अर्किड गार्डेन नेपाल परियोजनालाई महालक्ष्मी विकास बैंकको सहयोग

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले अर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका बालबालिकाको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  मुख्य उद्देश्यले  स्थापित उक्त परियोजनालाई  सफल बनाउन राउन्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको हो । 

१७ वर्षदेखि पिछडिएका बालबालिकालाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकाले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । 

विद्यालयको मैदान जमिनको सतहभन्दा करिब चार फिट तल रहेकाले वर्षायाममा कक्षाकोठामा बाढी पस्ने समस्या देखिएको बैंकले जनाएको छ । बाढीकै कारण विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचनासमेत आइसकेकोले उक्त सहयोगले विद्यालय सुधार गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । हाल ६ महिनादेखि नौ वर्षसम्मका एक सय ५० बालबालिकाले शिक्षा तथा स्याहार प्राप्त गरेकामा सुधारपछि दुई सय बालबालिकाले सेवा पाउन सक्ने बैंकले जनाएको छ । 

सुझावित समाचार