आइसिसी टी–२० विश्वकपमा छनाेट भएमा नेपाली क्रिकेट टोलीलाई विराटनगरको नोवेल मेडिकल कलेजले १५ लाख पुरस्कार दिने घोषणा घोषणा गरेको छ। मोरङको ३ नम्बर क्षेत्रबाट निर्वाचित संघीय सांसद सुनील शर्माले सञ्चालन गर्दै आएको उक्त कलेजले नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न बुधबार पुरस्कार घोषणा गरेको हो ।
विश्वकपमा छनाेट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनाेटको फाइनल खेल जितेमा थप पाँच लाख पुरस्कार प्रदान गरिने अस्पतालका सञ्चालक तथा सांसद सुनील शर्माले बताए । ‘नेपाली क्रिकेट टोलीले बढाइरहेको देशको गौरवलाई सम्मान गर्न नगद पुरस्कार घोषणा गरेका हौँ,’ सांसद शर्माले भने ।
पुरस्कार घोषणा गरिएको जानकारी पत्र बुधबार नै नोवेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई हस्तान्तरण गरेका छन् ।