मुगुमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थलतर्फ हिँडेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीम ढकालले दिएको जानकारीअनुसार जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको हो । उनका अनुसार सुर्खेतबाट वरिष्ठ सइ नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय टोली र अर्को डग टोली मुगु गएको छ ।
टोली शुक्रबार राति कालीकोट बसेर शनिबार बिहानै मुगु पुग्ने र अनुसन्धान थाल्ने डिआइजी ढकालले बताए ।
मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएपछि अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको हो ।
२८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहरको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
आज बिहान ११ बजेतिर घटनाको खबर पाएपछि डिएसपी थापा टोली लिएर घटनास्थल गएका थिए । उनले चारैजनाको घाँटी रेटेर हत्या गरेको पाइएको बताए ।
स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार श्रीदेवी छोराछोरी लिएर मंगलबार विजयादशमीको टीका थाप्न सोही वडामा पर्ने कोटिल्लामा रहेको माइतीघर गएकी थिइन् । भोलिपल्ट बुधबार बेलुकातिर घर फर्किएका उनीहरूको सोही राति हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
बिहीबार बिहान घरमा चहलपहल नदेखेपछि छिमेकी श्रीदेवीको घर पुगेका थिए । तर, घरको मूलढोकामा ताला लगाएको देखेपछि केटाकेटीसहित खेतमा सिमी टिप्न गएको ठानेर फर्किएका थिए ।
तर, शुक्रबार बिहान पनि कुनै चहलपहल नभएपछि छिमेकी पुग्दा ढोकामा ताला झुन्डिरहेको थियो । त्यसपछि स्थानीयले ताला फोडेर भित्र हेर्दा घाँटी रेटेर हत्या गरेको अवस्थामा चारैजना भेटिएको छिमेकीसमेत रहेकी माइजु रेसा बोहराले जानकारी दिइन् ।
स्थानीयले घटनाबारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय गमगढी र पिना प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घन्टा पैदल दक्षिणपूर्वमा रहेको छ ।
शुक्रबार दिनभरी मुगु प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई सिल गरी पहरा दिइरहेको छ ।