सशस्त्र प्रहरी बलले पछिल्लो ६ महिनामा करिब २४ करोड रुपैयाँबराबरका तस्करीका सामान बरामद गरेको छ । छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका अनुुसार सीमामा कडाइ गर्दा तस्करी नियन्त्रणमा सफलता मिलेको हो ।
गत चैतदेखि १५ असोजसम्म २० करोड ७७ लाख ६ हजार एक सय ४४ रुपैयाँबराबरको चोरीपैठारीको लत्ताकपडा, मोटर पार्ट्स, सवारीसाधनलगायत तस्करीका सामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै, एक करोड एक लाख ४४ हजार तीन सय ९३ रुपैयाँबराबरको पशुचौपाया, स्रोत नखुलेको ९९ लाख चार हजार तीन सय १५ नेपाली रुपैयाँ, २८ लाख १७ हजार तीन सय १५ भारुसमेत बरामद भएको छ ।
यस अवधिमा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँबराबरको काठ र आठ लाख ४८ हजार पाँच सय ५३ रुपैयाँबराबरको सुन तथा चाँदी बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
त्यस्तै, अपराध नियन्त्रणमा पनि सफलता हात परेको सशस्त्र प्रहरीको दाबी छ । सोही अवधिमा करिब एक हजार तीन केजी गाँजा, ३७.७१ केजी चरेश, पाँच हजार सात सय सातवटा विभिन्न किसिमका लागुऔषध (नर्फिन, फेनार्गन, डाइजेपाम, कोरेक्स, सिरिन्ज, नाइट्रोभेट) ट्याब्लेट बरामद भएको छ ।
चार नाल हतियार, २० वटा गोली, दुईवटा म्याग्जिन र १२ वटा कार्टिज पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतमा बेचबिखन गर्न लगिएका २० जना नेपाली चेलीबेटीको उद्धार गरी त्यसमा संलग्न रहेका एक सय १० जनालाई पक्राउ गरिएका सहप्रवक्ता थापाले जानकारी दिए ।
चोरीपैठारीलगायतका कार्यमा प्रयोग भएका ६ सय ४६ वटा विभिन्न कम्पनीका सवारीसाधनसमेत बरामद गरी भन्सार दाखिला गरेको छ । दसैँ, तिहार तथा छठको मौका छोपी सिमानामा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि विशेष योजना बनाई सशस्त्र प्रहरी परिचालन गरिएको बाहिनीले जनाएको छ । सशस्त्रले चाडपर्वलाई लक्षित गरी नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ ।