कथाकार कल्पना पौडेल जिज्ञासुको ‘कचहरी’ कथासंग्रहमाथि परिचर्चा गरिएको छ। भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आइतबार कार्यक्रम गरिएको हो।
विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङमयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राखेका थिए। पुस्तकमा समावेश भएका कथाहरूले हाम्रै परिवेशलाई सम्बोधन गरेको चालिसेले बताए।
‘सामाजिक विषयमा लेखिएका कथाहरू संग्रहमा छन्। अधिकांश कथामा गरिबीलाई चित्रण गरिएको छ। नारी विद्रोहलाई कथाकारले शालीनतापूर्वक कथामा सजाउनुभएको छ,’ चालिसेले भने। त्यसैगरी हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले गजल र मुक्तक हुँदै कथालेखनमा आएकी पौडेलका कथाहरू समाजमा हामीले देखे–भोगेका विषयवस्तुको अभिलेख भएको बताए। सरल भाषामा लेखिएका कथाहरूले सामाजिक जिम्मेवारी बहन गरेको पनि अधिकारीले बताए।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आरका प्रथम उपाध्यक्ष एमजेएफ लायन दीनानाथ न्यौपाने, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानकी सदस्य विष्णु तिवारी उषा र प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठ, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले पनि पौडेलको कथाका सन्दर्भमा रहेर टिप्पणी राखेका थिए।
विद्या विकास पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकमा १५ वटा कथा समावेश छन्। पौडेलको यो पाँचौँ कृति हो। यसअघि ‘भावनाका भेलहरू’ र ‘जून हराएको रात’ गजलसंग्रह तथा ‘विद्रोहका तरंग’ र ‘कल्पदीप’ मुक्तकसंग्रह प्रकाशित छन् । बागलुङमा जन्मिएकी पौडेलको अहिलेको बसोवास बाँकेमा छ।
विश्व नेपाली साहित्य महासंघ चितवन शाखाकी अध्यक्ष हरिप्रिया रिजाल र लायन्स क्लब अफ चितवन वाङमयकी अध्यक्ष लीला राना मास्कीले अध्यक्षता गरेको कार्यक्रमलाई वाङमयका सचिव राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए। कार्यक्रममा लायन्स क्लबका विभिन्न समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।