मौसममा सुधार आएपछि पाँच दिनदेखि रामेछापमा अलपत्र पर्यटक गन्तव्य जान पाउँदा खुसी

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

पाँच दिनपछि मौसममा सुधार आएपछि आज रामेछापको मन्थलीबाट लुक्लाको उडानहरू सञ्चालन भएका छन् । पाँच दिनदेखि रामेछापमा अलपत्र परेका पर्यटक लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ जान पाउँदा निकै खुसी भएका छन् ।

लगातार पाँच दिनसम्म लुक्लाको मौसम नखुल्दा लुक्ला उडान ठप्प थियो । पर्यटक मौसम सुरु भएसँगै विगतमा काठमाडौंबाट लुक्लाका लागि  हुने गरेका उडान केही वर्षदेखि रामेछापबाट हुँदै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप लुक्ला उडानका लागि आवश्यक पूर्वाधारहरू बनाएसँगै उडानहरू सहज भएको छ र थप सुधारका कामहरू हुँदै आएका छन् । लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरूले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यागेज एक्सरे मेसिनको माग गरेका छन् ।

हाल यी विमानस्थलहरूमा एक्सरे मेसिन नहुँदा ब्यागेज तथा सरसामानहरू हातैले खानतलासी गर्नुपरेको छ, यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुनः प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको छ । यस विमानस्थलबाट तारा, समिट र सीता एयरले उडान भर्दै आएका छन् ।

सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एयरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ५ दिनदेखि मौसममा सुधार नहुँदा उडान हुन पाएका थिएनन्, केही पर्यटक फाप्लुको उडानमार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने केही हेलिकाेप्टरमार्फत उडान गरी गन्तव्यतर्फ लागेका थिए । आज मौसम खुलेसँगै उडान सहज भएको छ । जहाज तथा जनशक्ति सबै मन्थली विमानस्थलमै थिए, आज बिहानैदेखि उडानहरू सञ्चालन भइरहेका छन् ।

सुझावित समाचार