बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल विजयी

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।

संघको ७०औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा अर्याल विजयी भएका हुन्। 

अर्यालले अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई  ८७ मत अन्तरले पराजित गरेका छन्। अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत र अर्का प्रत्यासी श्रेष्ठले ६८९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए। संघको निर्वाचनमा १ हजार ७ सय ७८ सदस्य मतदाता रहेकोमा १ हजार ५ सय ६ मत खसेको थियो।

संघको वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। अर्याल र श्रेष्ठको दुई प्यानल चुनावी मैदानमा उत्रिएकामा अधिकांश पदमा अर्याल प्यानल विजयी भएको छ।

उद्योग उपाध्यक्षमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरेका छन्।

महासचिवमा ७६० मत सहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा ८०९ मत सहित बसन्तप्रसाद ढकाल, सचिवमा ७२३ मत सहित प्रतीक पोखरेल र सहकोषाध्यक्षमा ८३० मत सहित धनकुमारी खनाल (सविता) निर्वाचित भएकी छिन्। पदाधिकारीमा सचिव बाहेक सबै अर्याल प्यानलबाट विजयी भएका छन्।

त्यसैगरी एक एसाेसियट सदस्यमा ७५१ मत सहित बालकृष्ण पौडेल निर्वाचित भएका छन्। चार उद्योग सदस्यमा दीपकप्रसाद चापागाईं, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित भएका छन्।

त्यस्तै सात खुल्ला सदस्य पदमा विष्णु (कमला) घिमिरे पन्त, विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्य पदमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित भएका छन्।

सुझावित समाचार