काभ्रेमा पहिलोपटक पुस्तक मेला

शिक्षकहरू टेप रेकर्डर मात्र भएर हुँदैन : अमर न्यौपाने

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

काभ्रे जिल्लाको बनेपा नगरपालिका– ७ चारदोबाटोमा पहिलोपटक ‘प्रगति वाङमय पुस्तक मेला’ सुरु भएको छ। 
न्यू प्रगति पुस्तक भण्डारको आयोजना र जनमत वाङमय प्रतिष्ठानको सहकार्यमा मेला सुरु भएको हो।

शुक्रबार बिहान लेखक तथा साहित्यकार अमर न्यौपानेले मेलाको उद्घाटन गरेका छन्। मेला उद्घाटनको क्रममा लेखक तथा साहित्यकार न्यौपानेले अबको आन्दोलन बन्दुक र ढुंगामुढाको नभई अक्षरको हुने बताए। ‘हिजोको आन्दोलन ढुंगामुढा र बमबारुद गोलीको हुने अवस्था थियो। अब त्यस्तो हुँदैन। अबको आन्दोलन अक्षरको आन्दोलन हुनेछ।’

अहिलेको युगमा टोलटोलमा पुस्तकालय हुनुपर्ने न्यौपानेले बताए। जहाँ गएर वृद्ध–वृद्धा, केटा–केटी र युवा–युवतीले ज्ञानगुणका कुरा र देश विदेशका कुराहरू हेर्न र पढ्न पाउने खालको पुस्तकालय हुनुपर्ने र यसको व्यवस्था स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने न्यौपानेको भनाइ छ। 

विद्यार्थीले पाठ्यक्रमको विषयले भन्दा बढी पुस्तकालयमा रहेको पुस्तकबाट बढी ज्ञान लिन सकिने उनले बताए । 
‘टोल–टोलमा पुस्तकाल हुनुपर्छ। जहाँ गएर विश्वको ज्ञान लिन सकोस् । त्यो व्यवस्था सरकारले गर्नुपर्छ,’ लेखक तथा साहित्यकार न्यौपानेले भने, ‘विद्यालयमा पढेको ज्ञान परीक्षामा काम लाग्छ, तर पुस्तकालयबाट लिएको ज्ञान जीवनमा काम लाग्छ। फेरि जीवनमा लेख्ने निबन्ध परीक्षामा नलेख्नु, परीक्षामा लेख्ने निबन्ध जीवनमा नलेख्नु, फेल भइन्छ।’

शिक्षकहरू टेपरेकर्डरजस्तो भएको बताउँदै न्यौपानेले भने, ‘शिक्षकहरू टेपरेकर्डरजस्तो मात्र हो। आफूले विद्यालयमा जुन विषय पढाउँछ त्यो विषयको मात्र ज्ञान राखेका हुन्छन्। त्यो परीक्षाका लागि मात्र काम लाग्छ। अबको युगमा शिक्षकहरू टेपरेकर्डर मात्र भएर हुँदैन। बाह्य ज्ञान पनि हुनु जरुरी छ। पुस्तक पढ्ने बानी बसालेमा त्यहीबाट विद्यार्थीलाई कसरी पढाउने भन्ने ज्ञान पनि लिन सकिन्छ र बाह्य ज्ञान पनि हुनेछ।’

पढ्ने बानी बसाल्न पुस्तक मेला

बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्नका लागि प्रगति वाङमय पुस्तक मेलाको आयोजना गरेको न्यु प्रगति पुस्तक भण्डारका प्रोप्राइटर भुवन मानन्धरले बताए। 

‘पछिल्लो समयमा बालबालिका मोबाइलमा मात्र झुम्मिन थादे। पढ्न छाड्न थाले। त्यो बानीलाई हटाई पढ्ने बानीको विकास गर्न हामीले पुस्तक मेलाको आयोजना गरेका हौँ,’ मानन्धरले भने, ‘पुस्तक व्यवसायीहरू पुस्तक बेच्न मात्र हाेइन, साहित्यमा योगदान पनि गर्छन् र सामाजिक काम पनि गर्छन् भनेर समाजलाई बुझाउन पनि मेलाको आयोजना गरेका हौँ।’

शुक्रबारबाट सुरु भएको मेला फूलपातीको दिनसम्म चल्ने मानन्धरले जनाएका छन्। मेलामा आउने दर्शकको माग भएमा अझ बढाउन सकिने उनले बताए। मेलामा पुस्तक किन्न चाहनेलाई हरेक पुस्तकको मूल्यमा २० प्रतिशत छुट दिने उनले बताए। मेलामा नपाएको पुस्तक अर्डर गरेमा ल्याइदिने उनको भनाइ छ।
 

सुझावित समाचार