मुस्ताङको जोमसोममा पहिलोपटक कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ। घरपझोङ गाउँपालिकाले आयोजना गरेको कृषि तथा पर्यटन महोत्सवको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन्।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा घरपझोङ गाउँपालिकाभित्रका विभिन्न गाउँहरूको कला र संस्कृति झल्किने झाँकी, नृत्य, भेषभूषाको प्रदर्शन गरियो। महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिका साथै स्थानीय उपजहरूको स्वाद चखाउने व्यवस्था मिलाइएको छ। महोत्सवमा भलिबल, तारा खेललगायतका प्रतियोगिता सञ्चालन हुनेछन्।
महोत्सवमा स्थानीय स्याउ, आलु, ओखर, फापरलगायतका कृषिजन्य उत्पादनकोसमेत प्रदर्शनी राखिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए। उनले गाउँपालिकाभित्रका पर्यटकीय सम्भावना भएका स्थानहरूको प्रचारप्रसार र कृषिजन्य उत्पादनको बजारीकरणमा समेत महोत्सवले सहयोग पुग्ने बताए।
महोत्सव अवधिभर लोकदोहोरी गीत, मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरूको प्रतिभा प्रदर्शनका साथै पाँचवटै वडाका मौलिक नृत्य प्रस्तुत हुनेछन्।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले घरपझोङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन, विपत् व्यवस्थापनका लागि आपतकालीन कार्य सञ्चालन केन्द्र भवनकोसमेत उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले मुस्ताङ र चीनको तिब्बत जोड्ने कोरला नाका नियमित सञ्चालनको पहल भइरहेको जानकारी दिए।
नाका खुलाउन आफू प्रयासरत रहेको बताउँदै उनले जिल्लास्थित सरोकारवाला निकायलाई समेत उनले कोरला नाकालाई सुचारु गराउने अभियानमा सहयोग गर्न आग्रह गरे। संघीय सरकारमार्फत नाका खुलाउन उच्चस्तरीय पहल भइरहेको उल्लेख गर्दै उनले यो नाका गण्डकी प्रदेशको आर्थिक समृद्धि र विकाससँग जोडिएको बताए।