डेंगुले प्रकोपको रूप लिएपछि घरघर जान थाले चिकित्सक

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि 

डेंगुले प्रकोपको रूप लिएपछि तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा घरघरमा चिकित्सक पुग्न थालेका छन् । तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि भएको छ । जसमध्ये व्यासमा मात्रै एक हजार सात सय ९५ संक्रमित छन् ।

शंकरबाबु अधिकारी, प्रमुख, स्वास्थ्य कार्यालय तनहुँ
दमौलीका घरमा भएका बिरामीको अवस्था बुझ्ने काम भएको छ, घरमै बसेका बिरामीको ज्वरो नाप्नेदेखि स्वास्थ्य अवस्था र खानपिनको जानकारी लिने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले डेंगुले प्रकोपको रूप लिएपछि संघ र गण्डकी सरकारबाट चिकित्सकसहितको टोली दमौली आएको बताए । ‘बिहीबार दमौलीका घरमा भएका बिरामीको अवस्था बुझ्ने काम भएको छ, घरमै बसेका बिरामीको ज्वरो नाप्नेदेखि स्वास्थ्य अवस्था र खानपिनको जानकारी लिने काम भइरहेको छ,’ उनले भने । डेंगुका कारण जटिल भएका बिरामीलाई भने अस्पताल पठाउने गरिएको उनले बताए । डेंगुको संक्रमण बढेसँगै दमौली अस्पतालमा जनशक्ति अभाव भएपछि व्यास नगरपालिकाले यसअघि नै चिकित्सकको टोली खटाएको थियो भने अहिले संघ र प्रदेशबाट पनि टोली आएको हो । संघ र गण्डकी सरकारले पनि पाँच–पाँचजना चिकित्सक खटाएको हो ।

दमौली अस्पतालमा दैनिक ५–६ सयको संख्यामा उपचारका लागि बिरामी आउने गरेका छन् जसमध्ये अधिकांशमा डेगु पजिटिभ भेटिएको छ । डेंगुका बिरामीको चाप बढेकाले अस्पतालमा समस्या भएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर परिवर्तन बरालले बताए । ‘अधिकांश बिरामी ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या लिएर आउने गरेका छन् । ज्वरोका विरामी बढी भएकाले परीक्षण गर्दा धेरैमा पजिटिभ भेटिएको छ, उनले भने, ‘सीमित जनशक्ति भएकाले समस्या भइरहेको हो ।’

‘खोज र नष्ट गर’ अभियान
व्यास नगरपालिकामा डेंगु बढ्दै गएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । लामखुट्टेको लार्भा खोजेर नष्ट गर्न दमौलीका स्थानीय, जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ । डेंगु नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्ने, घर वरपरका पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्यक्रम विद्यालयमा गएर पनि गरिएको छ ।

 

See More On

सुझावित समाचार