नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास तालिमको ४०औँ चरण आयोजना हुन लागेको छ । विगतमा हुँदै आएको ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेल दिइएको तालिम २४ भदौदेखि १२ असोजसम्म काठमाडौं उपत्यकामा हुने सेनाले जनाएको छ । अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सहभागी हुनेछन् ।
‘संयुक्त अभ्यासमा विपत् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । सेनाले अमेरिकाबाहेक बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत देशका सेनासँग संयुक्त तालिम अभ्यास गर्दै आएको छ ।
विशेषगरी खोज तथा उद्धार, विपत् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा संयुक्त तालिम तथा अभ्यासमा सेना सहभागी हुँदै आएको छ । सैन्य अभ्यासमा सहभागी हुन अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित बिहीबार अमेरिकी वायुसेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । अमेरिकी सेनाको विमान शुक्रबार फिर्ता हुनेछ ।
यसैबीच, बेलायतमा हुन लागेको प्रतिस्पर्धात्मक एक्सरसाइज क्याम्ब्रियन प्याट्रोलमा सहभागी हुन प्रमुख सेनानी विवेकविक्रम शाहको कमान्डमा १० सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।