बागमती प्रदेशमा पारसलाई सर्वसम्मत गराउने प्रयास

बागमती प्रदेश क्रिकेट संघको आज हुने निर्वाचनमा पूर्वकप्तान पारस खड्कालाई चितवनका सुदीप पियाले अध्यक्षमा चुनौती दिँदै

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्कालाई सर्वसम्मतको प्रयास भइरहेको छ । ललितपुरमा शुक्रबार निर्वाचन हुँदै छ । काठमाडौं जिल्ला क्रिकेट संघका सदस्यमा निर्वाचित भएपछि पारसले अध्यक्षमा दाबेदारी दिन लागेका हुन् । बागमती प्रदेशको अध्यक्षमा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले पारसलाई चुनौती दिनेछन् । बिहीबारसम्म सहमतिमा अध्यक्ष बनाउन प्रयास भएको छ । यद्यपि, काठमाडौं र चितवनका पदाधिकारीले आ–आफ्ना उम्मेदवारलाई अध्यक्ष बनाउने रणनीति बनाइरहेका छन् । 

‘हाम्रो चाहना सहमतिका आधारमा अध्यक्ष बनाउने हो,’ काठमाडौंका अध्यक्ष दिवाकर घलेले नयाँ पत्रिकालाई भने, ‘शुक्रबारसम्म एकपटक सर्वसम्मत गर्न प्रयास गर्छाैं ।’ नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय चुनाव असोज पहिलो साता हुँदै छ । केन्द्रीय निर्वाचनअघि ४५ जिल्ला र ६ प्रदेशको चुनाव पनि सम्पन्न भएका छन् । क्यानभित्र प्रवेश गर्न नै पारसले दुई वर्षअघि राष्ट्रिय क्रिकेट टोलीबाट सन्न्यास लिएका थिए । गत साता उनले प्रदेश अध्यक्षमा उठ्ने घोषणा गरी बहुमतका आधारमा विजयी हुने दाबी गरेका थिए । 

उनले चितवन र नुवाकोटबाट साथ नपाउने बताइसकेका छन् । नुवाकोटका अध्यक्ष दुर्गाराज पाठकले सर्वसम्मति हुनुपर्ने धाराणा राखेका छन् । ‘हामी सहमतिको प्रयास गर्छौं, उहाँहरू सहमतिको पक्षमा देखिएका छैनन्,’ पाठकले भने, ‘हामीले पारसलाई अस्वीकार गरेका छैनौँ, निर्वाचन खुला छ, सबैलाई सम्मान गरी समेटेर अगाडि जाँदा सहमति हुन्छ ।’ पाठकले सहमति नभएमा प्यानलसहित चुनावमा होमिने बताए । ‘चुनाव लड्यौँ भने हामी प्यानलसहित उठ्छौँ र जित्छौँ पनि,’ 
उनले भने । 

बागमती प्रदेशका ६ मध्ये चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरले पारसलाई अध्यक्षमा उठाउने प्रतिबद्धता गरेका छन् । भक्तपुरका मनीषराज पाण्डे, मकवानपुरका करन महत क्षेत्री र ललितपुरका शेखर श्रेष्ठले पारसलाई अध्यक्षमा उठाउने निर्णय गरिसकेका छन् । बागमतीमा कुल ३७ मतदाता छन् । 

सुझावित समाचार