६० किलो सुन तस्करीको प्रस्थानबिन्दुमै पुगेर अनुसन्धान गर्दै सिआइबी

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

एसएसपी दिनेश आचार्य हङकङ गए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन तस्करीको प्रस्थानबिन्दुमै पुगेर अनुसन्धान गर्न लागेको छ । सिआइबीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएर अनुसन्धान गर्न लागेको हो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सुन तस्करी अनुसन्धानमा सघाउने उद्देश्यले सिआइबीले एसएसपी आचार्यलाई हङकङ पठाउने निर्णय भएको बताए । उनले भने, ‘सिआइबीले सुन तस्करी अनुसन्धान गरिरहेको छ । यस क्रममा थप सूचना संकलन गर्नुपर्ने भयो । यही सिलसिलामा एसएसपीलाई हङकङ पठाउने निर्णय भएको छ ।’

६० किलो सुन तस्करीको बिगिनिङ प्वाइन्ट (सुरुवाती बिन्दु) हङकङ हो । तर, हङकङ प्रशासनले अपेक्षाकृत सहयोग नगरेपछि समन्वय गर्न सिआइबीले एसएसपी आचार्यलाई मंगलबार राति पठाएको छ । 

गत २ साउनमा हङकङबाट जहाज हुँदै आएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट निस्किने क्रममा बरामद भएको थियो । सुन राजस्व अनुसन्धान विभागले बरामद गरे पनि अहिले घटनाको अनुसन्धान सिआइबीले गरिरहेको छ । 

डिआइजी कुबेर कडायत, प्रवक्ता, नेपाल प्रहरी

सिआइबीले सुन तस्करी अनुसन्धान गरिरहेको छ । यस क्रममा थप सूचना संकलन गर्नुपर्ने भयो । यही सिलसिलामा एसएसपीलाई हङकङ पठाउने निर्णय भएको छ ।

६० किलो सुन तस्करी अनुसन्धान हङकङ प्रशासनको सूचनाविना पूर्ण हुँदैन । आवश्यक सूचना दिन सिआइबीले इन्टरपोलमार्फत हङकङ प्रहरी र त्यहाँको प्रशासनलाई आग्रह गर्दै आएको छ । तर, त्यहाँको प्रशासनले घटना अनुसन्धानमा अपेक्षित सहयोग गरेको छैन । सोही गाँठो फुकाउने र सूचना संकलनमा सहजीकरणका लागि आग्रह गर्न एसएसपी आचार्यलाई हङकङ पठाउन लागिएको हो । 

त्यसअघि राजस्व अनुसन्धान विभाग र भन्सार विभागले पनि सुन तस्करीमा संलग्न अभियुक्तको विवरण उपलब्ध गराउन हङकङ सरकारलाई अनुरोध गरेको थियो । तर, हङकङ प्रशासनले उनीहरूको प्रस्तावलाई पनि अस्वीकार गरेको थियो । हङकङमा सुन खरिद/बिक्री र आयात/निर्यातमा नेपालमा जस्तो कानुनी सीमितता छैन । तस्करी भएर नेपाल आएको ६० किलो सुन तस्करले हङकङको कानुनी दायराभित्रै रहेर खरिद गरेका थिए । त्यसबापत भुक्तानी गर्नुपर्ने कर पनि हङकङ सरकारलाई उनीहरूले बुझाएका थिए । 

सुन तस्करीमा संलग्न अभियुक्त नेपालका लागि मात्रै तस्कर हो । हङकङका लागि ग्राहक हो । त्यसो हुँदा उसलाई आफ्नो ग्राहकको गोपनीयता भंग गर्ने कानुनी बाध्यता छैन । किनकि नेपाल सरकार र चीन सरकारबीच हालसम्म एमएलए (मिच्युअल लिगल असिस्टेन्ट) ट्रिटी पनि छैन । सोही कारण यसले सुन तस्करीमा संलग्न अभियुक्तको विवरण दिन अस्वीकार गर्दै आएको छ । 

सिआइबी स्रोतले भन्यो, ‘सुन तस्करीको ‘बिगिनिङ पोइन्ट’ हङकङ देखिन्छ । यसका लागि हङकङ प्रशासनको सहयोग सिआइबीलाई चाहिन्छ । हामीले इन्टरपोलमार्फत हङकङ प्रहरीलाई अनुरोध ग¥यौँ । तर, अपेक्षित सहयोग भएन । त्यसो हुँदा एसएसपीलाई पठाउने निर्णय भएको छ । त्यसपछि सूचना संकलनमा केही सहजता होला ।’

६० किलो सुन र साढे नौ किलो सुन तस्कर आपसमा अन्तरसम्बन्धित 
सिआइबीले गत २२ साउनदेखि ६० किलो सुन तस्करी अनुसन्धान अघि बढाइरहेको छ । यसक्रममा सिआइबीले तस्करमा संलग्न टियान मी, वेन टोङ, डियाङ से फा, ली नेङकाई, याओ पुचेङ र ली वेन सुङलाई पक्राउ गरेको छ । जसमध्ये याओ यसअघि सुन तस्करीकै अभियोगमा भारतमा पक्राउ परेका र सजाय भुक्तानपछि कारागारमुक्त भएका अभियुक्त हुन् । उनको सम्बन्ध इ–सिगरेट (विद्युतीय चुरोट)मा लुकाई साढे नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक ली हानसोङसँग पनि रहेको देखिएको छ । 

गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक लीलाई इ–सिगरेट (विद्युतीय चुरोट)सहित प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि इ–सिगरेटभित्र सुन रहेको खुल्यो । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल मुछिएको सोही घटनामा हो ।

घटना सम्बन्धमा सिआइबीका उच्च अधिकारीले भने, ‘इ–सिगरेटमा लुकाएर सुन तस्करी गर्ने गिरोह र ६० किलो सुन तस्करीमा संलग्न गिरोहबीच ‘कनेक्सन’ रहेको देखिन्छ । यसका पछि केही ठोस ‘इभिडेन्स’ प्राप्त भएको छ । यसमा अझै पनि प्राविधिक पक्षको अनुसन्धान भइरहेको छ । त्यसो हुँदा सुन तस्करीको दुवै घटना एउटै गिरोहले गरेको हुन सक्ने हाम्रो अनुमान छ ।’

घटनामा संलग्न रहेको अभियोगमा तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ पनि पक्राउ परेका छन् । घटनामा हालसम्म २३ अभियुक्त पक्राउ परिसकेका छन् । जसमध्ये २२ प्रहरी हिरासतमा छन् । एकजना हाजिर जमानीमा छुटेका छन् । 

दावा छिरिङको नागरिकता छानबिन गर्न गृहले बनायो समिति
६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङको नागरिकता छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहले उनको नागरिकता छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरेको छ । ६० केजी सुन अनुसन्धानका क्रममा पक्राउ परेका उनको साथबाट नेपाली नागरिकता फेला परेका थियो । उनले उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २० पुस ०७४ मा निकालेका थिए । उनको ठमेलमा भियाना नामको होटेल छ । उनलाई राजस्व अनुसन्धान विभागबाट खटिएका टोलीले सोही होटेलबाट पक्राउ गरेको थियो । उनले नेपाली नागरिकसँग विवाह गरेका छन् । 

विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि कार्यदल गठन 
बारम्बार सुरक्षा त्रुटि भएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सुधारका लागि पहल अघि बढाएको छ । सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । सोमबार पहिलो बैठक बसेर कार्यदलले काम सुरु गरेको छ । प्रतिवेदन बुझाउन कार्यदललाई १५ दिनको समय दिइएको छ । 

कार्यदलमा अर्थ, गृह, रक्षा र पर्यटन मन्त्रालयका सहसचिवहरू सदस्य छन् । त्यस्तै, नागरिक उड्डयन प्राधिकरण, अध्यागमन विभाग र भन्सार विभागका महानिर्देशकहरू तथा नेपाल प्रहरीका डिआइजी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक पनि सदस्य छन् । 

ठूलो मात्रामा सुन तस्करी भएपछि पछिल्लो समय विमानस्थलको सुरक्षा प्रणालीमा प्रश्न उठेको थियो । गत ३१ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विमानस्थलको सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्रीले कार्यदल गठन गरिने र त्यसको प्रतिवेदनका आधारमा विमानस्थलको सुरक्षा प्रबन्धहरूमा हेरफेर गर्ने जानकारी दिएका थिए ।

विमानस्थलमा सरकारी निकायबीच नै राम्रो समन्वय नहुँदा पटक–पटक त्रुटि हुँदै आएको छ । विगतदेखि नै भन्सारको जाँचपासमा प्रहरीलाई सहभागी गराउन माग हुँदै आएको छ । तर, अर्थ मन्त्रालयको असहमतिले रोकिने गरेको छ । पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरीको प्रतिनिधित्व गराउन मन्त्रिपरिषद्मा प्रस्ताव राखेका छन् । कार्यदलको प्रतिवेदनका अधारमा यस विषयमा निर्णय हुने सम्भावना रहेको स्रोत बताउँछ । विमानस्थलमा केही निकायको जिम्मेवारी थपघट गर्ने तयारी भइरहेको छ । 

सुझावित समाचार