एसिया कप खेल्ने नेपालको सपना बुधबार साकार हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोलीले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । पाकिस्तान र भारतजस्ता क्रिकेट महारथी राष्ट्रहरूसँगको प्रतिस्पर्धाले नेपाली टोलीमाथि संसारभरिका क्रिकेटप्रेमीको नजर पर्नेछ ।
पन्जाबको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बाट खेल सुरु हुनेछ । ३५ हजार दर्शकले रंगशालामा उपस्थित भई तथा संसारभरका क्रिकेटप्रेमीले प्रत्यक्ष प्रसारणमार्फत एसिया कपमा नेपालको डेब्यु म्याच हेर्नेछन् ।
क्रिकेटका दुई महारथी भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’मा छ । दुवै एकदिवसीय क्रिकेटका पूर्वविश्वकप विजेता हुन् । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीले पाकिस्तान र भारतका ख्यातिप्राप्त ब्याट्सम्यान र बलरलाई चुनौती दिने नेपाली क्रिकेटप्रेमीको अपेक्षा छ ।
प्रतियोगिताका लागि नेपाली खेलाडीले डेढ महिनादेखि तयारी गरेका छन् । श्रीलंकाको कोलम्बोमा १५ दिन र पाकिस्तानको कराँचीमा चार दिनको प्रशिक्षण गरेका थिए ।
एकदिवसीय, टी–२० र च्याम्पियन्स ट्रफीका विजेता भइसकेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनु नेपाली खेलाडीका लागि एक अवसर पनि हो । कप्तान पौडेलले प्रत्येक खेलका हरेक क्षणलाई स्मरणीय बनाउने बताएका छन् । ‘प्रत्येक स्ट्रोक, विकेट र रनको क्षणलाई स्मरणीय बनाउनेछौँ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
विश्व क्रिकेटका हस्तीहरूले पनि नेपाललाई राम्रो प्रदर्शन गर्न सक्ने टोलीका रूपमा लिएका छन् । पाकिस्तानका पूर्वकप्तान वासिम अक्रमले मंगलबार सामाजिक सञ्जालमा एसिया कपबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘प्रिमियर कपमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे र एसिया कपमा छनोट भए । पहिलोपटक प्रतियोगिता खेलिरहेको भए पनि मलाई विश्वास छ नेपाली खेलाडीले राम्रो गर्न सक्छन्, उनीहरूको क्षमतालाई बेवास्ता गर्न मिल्दैन । नेपाली टोली बलिया राष्ट्रलाई टक्कर दिन सक्षम छ जस्तो लाग्छ ।’
कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्ने बताए । ‘विश्व वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानी टोलीसँग प्रतिस्पर्धा गर्दै छौँ । दुवै टोलीका खेलाडी क्षमतावान् छन् । मलाई लाग्छ नेपाल र पाकिस्तानबीचको फरक भनेको अनुभव हो । दुवै टोलीको ब्याटिङ र बलिङमा केही फरक छैन, तर पाकिस्तान अनुभवी टोली हो,’ उनले भनेका छन् ।
पाकिस्तानी टोलीका कप्तान बाबर आजमले पनि नेपाली टोलीलाई कमजोर मान्न नसकिने बताए । ‘कुनै पनि विपक्षीलाई टोलीलाई कहिल्यै पनि कमजोर रूपमा लिन मिल्दैन । नेपालको प्रदर्शन कस्तो छ भन्ने हामीले हेरेका छौँ । नेपालको कमजोर र बलियो पक्षमा विश्लेषण भएको छ । यसकारण नेपालसँगको खेललाई सहज रूपमा लिँदैनौँ । प्रतियोगिताको यो पहिलो खेल हो । र, महŒवपूर्ण खेल पनि हो । हामी राम्रो सुरुवात गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेटका दिग्गज राष्ट्रसँगको प्रतिस्पर्धालाई हार वा जितभन्दा पनि सिक्ने अवसरका रूपमा लिनुपर्ने बताए । ‘नतिजा हाम्रो पक्षमा नहोला, तर भारत र पाकिस्तानसँगको खेलमा खेलाडीले धेरैभन्दा धेरै अनुभव लिनुपर्छ,’ उनले कराँचीमा स्थानीय पत्रकारलाई प्रतिक्रिया दिएका छन्, ‘त्यसकारण प्रतियोगितालाई पनि अवसरकै रूपमा लिएको छु ।’
प्रतियोगिताबाट नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेले आफ्नो ५०औँ एकदिवसीय खेल पूरा गर्दै छन् । त्यस्तै, तीन ब्याट्सम्यान एकदिवसीय खेलमा हजार रन पूरा गर्ने स्थितिमा छन् ।

२००२ मा पनि छनोट भएको थियो नेपाल
यसअघि २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । तर, अन्तिममा प्रतियोगिता नै रद्द भयो । भारत र पाकिस्तानबीचको अन्तरिक विवादका कारण त्यस वर्ष प्रतियोगिता भएन । छनोट प्रतियोगितामा नेपाल संयुक्त रूपमा विजेता हुँदै एसिया कपमा छनोट भएको थियो ।
मुल्तान रंगशालाको इतिहास
मुल्तान रंगशालामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता २००३ मा पाकिस्तान र बंगलादेशबीच भएको थियो । अन्तिमपटक १२ जुन २०२२ मा पाकिस्तान र वेस्ट इन्डिजबीच एकदिवसीय खेल भएको थियो । एक वर्षपछि यो रंगशालामा एकदिवसीय खेल हुन लागेको हो ।
यहाँ भएका एकदिवसीय खेलमा पाकिस्तानले १० मध्ये सातमा जित निकालेको छ । यहाँ २००७ मा दक्षिण अफ्रिकासँग हारेपछि पाकिस्तानले कुनै पनि खेल गुमाएको छैन ।
२००३ मा पाकिस्तानले यसै मैदानमा ३२३ रन बनाएको थियो । मुल्तानमा तीनपटक मात्र तीन सयभन्दा माथि योगफल बनेको छ । २०२२ मा वेस्ट इन्डिजविरुद्ध पाकिस्तानले तीन सय रनको लक्ष्य कटाएको थियो । यसै मैदानमा पाकिस्तानविरुद्ध जिम्बावे कम योगफलका रूपमा १४८ रनमा समेटिएको थियो । २००४ मा भारतका वीरेन्द्र सेहवागले टेस्ट क्रिकेटमा ३ सय ९ रनको इनिङ्स यसै मैदानमा बनाएका थिए । मुल्तानको पिचमा स्पिनरले राम्रो गर्न सक्छन् । यहाँ पाकिस्तानका सादब खान र मोहम्मद नवाजले सर्वाधिक ७ विकेट लिएका छन् ।
१८ भदौमा भारतको सामना गर्ने
नेपालले समूह ‘ए’को दोस्रो खेलमा १८ भदौमा भारतको सामना गर्नेछ । यो खेल श्रीलंकाको पालेके मैदानमा हुनेछ । एसिया कपकै सर्वाधिक सफल टोली भारत आइसिसी एकदिवसीय वरीयताको तेस्रो स्थानमा छ । नेपाल १५औँ स्थानमा छ ।
भारतका कप्तान रोहित शर्माले ५० ओभरको खेलमा विश्व कीर्तिमान राखेका छन् । उनले तीनपटक दुई सय रन योगफल कटाएका छन् । एकदिवसीय खेलमा व्यक्तिगत सर्वाधिक रन उनकै नाममा छ । १३ नोभेम्बर २०१४ मा उनले श्रीलंकाविरुद्ध १७३ बलमा दुई सय ६४ रन जोडेका थिए । उनले दुई सय ४४ खेलमा नौ हजार आठ सय ३७ रन जोडेका छन् ।
एकदिवसीय खेलमा उनले ३० शतक र ४८ अर्धशतकीय इनिङ्स खेलेका छन् । भारतका पूर्वकप्तान विराट कोहली वर्तमान समयकै उत्कृष्ट ब्याट्सम्यानमा पर्छन् । उनले २७५ खेलमा १२ हजार आठ सय ९८ रन बनाएका छन् । उनको नाममा ४६ शतक तथा ६५ अर्धशतक छ ।
नेपाली टोली बलिया राष्ट्रलाई टक्कर दिन सक्षम छ : वासिम अक्रम, पूर्वकप्तान, पाकिस्तान
नेपालको क्रिकेटबारे जानकार छु । नेपाली टोलीले एसिया कपमा भारत र पाकिस्तानजस्ता राष्ट्रसँग खेल्ने अवसर पाएको छ । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीप्रति दर्शकले देखाएको समर्थनलाई नजिकबाट हेरेको थिएँ ।
एसिया कप छनोटका रूपमा रहेको प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदा हजारौँ समर्थक उपस्थित थिए । रंगशाला भरिभराउ भएर पनि मैदानबाहिर रूखमा चढेर क्रिकेट हेरिरहेका नेपालीका तस्बिर हेरेको छु ।
यसले नेपालमा पनि क्रिकेटप्रति ठूलो लगाव रहेको देखाउँछ । प्रिमियर कपमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे र एसिया कपमा छनोट भए । क्रिकेटका लागि त्यो निकै गहिरो लगाव हो ।
नेपाल प्रतियोगितामा छनोट भएको छ, त्यसका लागि बधाई । नेपाली टोलीलाई बेवास्ता गर्न मिल्दैन । नेपाली टोली बलिया राष्ट्रलाई टक्कर दिन सक्षम छ । नेपालले भौतिक पूर्वाधार र घरेलु क्रिकेटको संरचनामा सुधार गर्न भने आवश्यक छ ।