विगतमा भारतमा भएका सुन तस्करी र हालै नेपालमा चिनियाँ गिरोहले गर्ने सुन तस्करीको शैली उस्तै देखिएको छ । यसमा एउटै समूहको संलग्नता हुन सक्ने आशंकामा नेपाल प्रहरीले भारतीय सुरक्षा अधिकारीसँग यससम्बन्धी विवरण मागेर अनुसन्धान थालेको छ ।
भारतमा पनि कार्गाेमार्फत सुनको लेप लगाइएका विभिन्न सामान आयात गरी संगठित रूपमा सुन तस्करी हुने गरेको पत्ता लागेको थियो । भारतको राजस्व इन्टेलिजेन्स निर्देशनालय (बिआरआई)ले सन् २०२१ मा ‘अप्रेसन मोल्टेन मेटल’ र सन् २०२२ मा ‘अप्रेसन गोल्डेन ट्र्याप’ सञ्चालन गरी ठूलो मात्रामा सुन बरामद गरी विदेशी नागरिकलाई पक्राउ गरेको थियो । त्यो समूहले पनि चीन तथा हङकङबाट नेपालमा हालै भएको शैलीमा सुन तस्करी गरेको थियो ।
किरण बज्राचार्य, निर्देशक, सिआइबी
विगतमा भारतमा भएको सुन तस्करी र हालै नेपालमा बरामद सुन तस्करीको अपराधको शैली उस्तै छ, कतै एउटै गिरोह हो कि भन्ने कोणले पनि अनुसन्धान गरिरहेका छौँ
उस्तै शैली देखिएकाले भारतमा भएको तस्करीको घटनाबारे समेत बुझेर अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । ‘भारतमा पनि विगतमा यस्तै शैलीमा सुन तस्करी भएको रहेछ, कतै एउटै समूह हो कि भन्ने कोणले पनि अनुसन्धान गरिरहेका छौँ,’ उनले भनिन् ।
सन् २०२१ को नोभेम्बरमा हङकङ हुँदै भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा फरक–फरक एयर कार्गाेमार्फत आयात गरिएका विभिन्न मेसिनरी सामानभित्र ठूलो मात्रामा सुन भेटिएको थियो । ती सामानभित्र सुनको लेप लगाइएको हुन्थ्यो । यसरी तस्करी भएको साढे ८५ केजी सुन बरामद भएको थियो । यसमा दुई दक्षिण कोरियन, एक चिनियाँ र एक भियतनामकी नागरिकसहित भारतीयहरू समातिएका थिए ।
अप्रेसन ‘मोल्टेन मेटल’ले सो गिरोहलाई पक्राउ गरेको थियो । त्यो समूहले नयाँदिल्लीका विभिन्न ठाउँमा घर भाडामा लिएर तस्करी गरिरहेको थियो । हाल नेपालमा पक्राउ परेको चिनियाँ गिरोहको पनि शैली उस्तै देखिएको छ ।
त्यस्तै, सन् २०२२ को मेमा ‘अप्रेसन गोल्डेन ट्र्याप’मार्फत साढे ६१ केजी सुन बरामद भएको थियो । त्यो पनि एयर कार्गाेमार्फत धाराका विभिन्न सामानभित्र लुकाएर तस्करी हुँदै थियो । ती सामान चीनको गोन्जाओबाट लगिएको थियो ।
त्यस्तै, गत माघमा मात्रै भारतको राजस्व निर्देशनालयले नै नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरी एक सय एक केजी सात सय ग्राम सुन बरामद गरेको थियो । त्यसमा ‘अप्रेसन गोल्डेन डान’ सञ्चालन गरी दुई सुडानीलगायतलाई पक्राउ गरेको थियो । त्यही वेलामा नेपालमा पनि सुन तस्करी गर्ने सुडानी नागरिक पक्राउ परेका थिए ।
यी घटनालाई समेत पृष्ठभूमिमा राखेर सिआइबीले सुन तस्करीको पछिल्लो घटनाको अनुसन्धान गरिरहेको छ । नेपालमा तस्करी हुने सुनमध्ये धेरैजसो भारतमै जाने भएकाले पनि यसमा तस्कर गिरोहको सम्पर्क हुन सक्ने सिआइबीका अधिकारीहरू बताउँछन् ।
हाल नेपालमा पक्राउ परेकामध्ये चिनियाँ मूलका दुईजनाको भारतीय रासनकार्डसमेत फेला परेको छ । जस आधारमा उनीहरू भारतमा पनि लामो समयदेखि बसेको र त्यहाँ पनि सुन तस्करीको गतिविधिमा संलग्न रहेका आशंका गरिएको छ ।
सिआइबीले पछिल्लो करिब ६० केजी सुन तस्करी प्रकरणमा २४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूले हङकङबाट एयर कार्गाेमार्फत ब्रेकसुलगायत विभिन्न सामानभित्र लुकाएर सुन ल्याउँदै आएका थिए । काठमाडौंमा दर्जन गोदाम भाडामा लिएर लुकाउने र टोखाको कारखानामा सुन गालेर उनीहरूले बाँडफाँट गर्दै आएका थिए ।
यो घटनाको अनुसन्धान सुरु भएको शनिबार ३४ दिन पुगेको छ । अबको तीन साताभित्र अनुसन्धान टुंग्याउनुपर्ने बाध्यता सिआइबीलाई छ । संगठित अपराधमा सिआइबीले ६० दिनसम्म मात्र पक्राउ परेका आरोपीलाई थुनामा राख्न पाउँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो घटनामा इन्टरपोलको समेत सहयोगमा अनुसन्धान भइरहेको बताएका छन् । गत, मंगलबार सम्पादकहरूसँगको अन्तत्र्रिmयामा उनले यस्तो बताएका थिए । तर, भारतसँग पारस्पारिक कानुनी सहायता सन्धि नभएकाले नेपालले अनौपचारिक रूपमा मात्र यससम्बन्धी विवरण मागेको प्रहरी स्रोत बताउँछ । चीनसँग भने पारस्पारिक कानुनी सहायता सन्धि भएकाले अपराधका सूचना औपचारिक रूपमै माग्न सकिने व्यवस्था छ । सुन तस्करीमा धेरै चिनियाँको संलग्नता देखिएकाले चीन र इन्टरपोलसँग पनि अनुसन्धानका लागि सहकार्य गर्ने प्रहरी तयारी छ ।
पक्राउ परेका पाँच चिनियाँसँग नेपाली नागरिकता र पासपोर्ट

नेपालमा लामो समयदेखि बसेर सुन तस्करीमा संलग्न भएका चिनियाँ गिरोहसँग नेपाली नागरिकता र पासपोर्टसमेत भेटिएको छ । चारजनाले काभ्रेबाट तथा एकजनाले काठमाडौंबाट नागरिकता तथा पासपोर्ट बनाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । ‘उनीहरूसँग चिनियाँ पासपोर्ट पनि छ, नेपाली पासपोर्ट पनि भेटिएको छ,’ प्रवक्ता कडायतले भने, ‘यस विषयमा छुट्टै अनुसन्धान भइरहेको छ ।’
ली नेनकाईले सोनाम लामाको नाममा र डिङ सी फाले राम लामाको नाममा काभ्रेबाट नागरिकता लिएका छन् । तियान मी र वेन तोङसँग पनि काभ्रेबाट जारी भएको नागरिकता भेटिएको छ । त्यसैका आधारमा उनीहरूले पासपोर्टसमेत लिइसकेका थिए । ली वेनले भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको सिआइबीले जनाएको छ ।
गिरोहका नाइकेमध्येका एक दावा तामाङले पनि काभ्रेबाटै निमा तामाङको नाममा नागरिकता र पासपोर्ट बनाएको यसअघि नै पुष्टि भइसकेको छ । जसमा प्रहरीले एक वर्षअघि नै छानबिन गरे पनि त्यसमा कुनै कारबाही नगरेको पाइएको छ । नेपाली महिलासँग बिहे गरी ठमेलमा होटेल चलाउँदै आएका दावासँग बेल्जियमको समेत पासपोर्ट छ । पक्राउ परेकामध्ये थुप्तेन छिरिङ र याओ पुसिङसँग भारतीय आधारकार्ड भेटिएको छ ।
विगतमा भारतमा भएको सुन तस्करी र हालै नेपालमा बरामद सुन तस्करीको अपराधको शैली उस्तै छ, कतै एउटै गिरोह हो कि भन्ने कोणले पनि अनुसन्धान गरिरहेका छौँ