नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताए।
उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९/८० मा नाफा घटेको छ।
गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित बनेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको हो।
निर्देशक घिसिङले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको र प्राधिकरणको वास्तविक सम्पति मूल्यांकन कार्य सम्पन्न गरिएको बताए।
प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रियाअगाडि बढाइएको निर्देशक घिसिङले बताए।
संस्थाको त्रेडिट रेटिङ आइसिआरएबाट एए प्लस प्राप्त गर्न सफल भएको उल्लेख गर्दै उनले प्राधिकरणले बजेट र खर्च नियन्त्रणको लागि केन्द्रीकृत भुक्तानी एवं अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको बताए।
विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्बबराबरको रकम प्रसारण तथा वितरण प्रणालीमा विस्तार र सुधारमा लगानी गरिएको उनले दाबी गरे।
उनले प्राधिकरणले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको पनि जानकारी दिए।
निर्देशक घिसिङले आर्थिक वर्ष ०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट ३.९२ प्रतिशतले घटेर अहिले १३.४६ प्रतिशत पुगेको बताए। वितरणतर्फबाट विद्युत् चुहावट ९.७६ प्रतिशत सीमित गरिएको घिसिङको भनाइ छ।
दुई वर्षअघिसम्म ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण लाइनको विद्युत् पाएकोमा अहिले ९५ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ।
उनका अनुसार मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सारभूत रूपमा पूर्ण विद्युतीकरण भएका छन् भने कोसी प्रदेशमा ९५ प्रतिशत, लुम्बिनी ९८, कर्णाली ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको दाबी भएको छ।
७५३ स्थानीय तहहरूमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ पूर्ण विद्युतीकरण भएका र एक सय २७ वटा स्थानीय तहहरूका अधिकांश स्थानमा र २१ स्थानीय तहहरूका अधिकांश स्थानहरूमा सोलार र साना तथा लघुजलविद्युतमार्फत विद्युतीकरण भएको निर्देशक घिसिङले बताए।
पछिल्लो दुई वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत करिब २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको छ। यस्तै, विगत २ वर्षमा उद्योगहरूको ८०० एमभिए विद्युत् लोड स्वीकृत गरिएको निर्देशक घिसिङले बताए।
निर्देशक घिसिङले विद्युत् प्राधिकरण भारतमा विद्युत् निर्यात १० अर्ब ३५ करोड रुपैयाँ र आयात १९ अर्ब ४५ करोड रुपैयाँको गरेको बताए।
गत वर्षमा विद्युत् निर्यातभन्दा आयात बढी भएको बताउँदै उनले नेपालले पहिलोपटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल करिब ४५० मेगावाट विद्युत् निर्यात भइरहेको जानकारी दिए।
निर्देशक घिसिङले सिस्टममा समस्याका कारण पछिल्लो समय झ्याप–झ्याप बिजुली जाने गरेको बताए।