कैलालीमा बाढीले साढे चार सय परिवार प्रभावित

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले कैलालीमा दर्जनौँ परिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढी घरमा पसेर जिल्लाभर करिब चार सय ६२ परिवार प्रभावित बनेका छन्। तीमध्ये केही परिवार विस्थापित भएका छन्।

विस्थापित भएका परिवारको यकिन संख्या जिल्ला प्रशासन कार्यालयसँग छैन। कान्द्रा नदीमा आएको बाढी बस्ती पस्दा भजनी नगरपालिका– ७, शिराधानी शिविरमा एक सय ५० परिवार प्रभावित भएका प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। भजनी– ५ कुटीका ५० घरधुरी र पुलियापुरका १६ घरधुरीमा कान्द्रा नदीको बाढी पसेको छ।

त्यस्तै, कटैनी खोलामा आएको बाढीका कारण कैलारी गाउँपालिका– ७ वसन्ताका ८५ घरधुरी, बड्की वसन्ताका ५० घरधुरी र भुँइयाफाँटाका २० घरधुरी प्रभावित बनेका प्रशासनले जनाएको छ।

नदीको बाढी घरमा पसेपछि केही परिवारले घर छोडेको बताइएको छ। जोशीपुर गाउँपालिकाको फाँडिया र भितरियाका ५६ घरधुरीमा स्थानीय काँडा नदीको बाढी पसेको प्रशासनले जनाएको छ।

डुबानमा परेका ६ परिवारको उद्धार

भजनी नगरपालिका– ८ मा डुबानमा परेका ६ परिवारलाई प्रहरीले उद्धार गरेको छ। प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। बाढीबाट भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ।

हिजो राति परेको भारी वर्षापछि कैलालीमा विभिन्न नदी तथा खोलाहरूमा आएको बाढीले दर्जनौँ परिवार प्रभावित बनेका हुन्। मोहना, कान्द्रा, काडा, पथरैयालगायत नदीमा पानीको बहाव बढेको छ। त्यस्तै, सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोका कारण हिजो रातिबाट अवरुद्ध बनेको छ। 

राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका– ४ को दुई ठाउँमा पहिरो गएको छ। एक ठाउँमा पहिरोसँगै सडक भासिएको छ। सडक भासिएकाले राजमार्ग खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ। 

कैलालीको भजनीसहित विभिन्न क्षेत्रमा भएको डुबान र डुबानमा परेकालाई उद्धार गर्दै प्रहरी ।

सुझावित समाचार