सिटी फुकेर निर्माण व्यवसायीको आन्दोलन

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको अन्दोलन सोमबारबाट सुरु भएको छ । जसअनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद् भवनअगाडिसम्म सिटी जुलुस गरेका थिए । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको सोही जुलुस बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा बदलिएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले व्यवसायीको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गरे । 

निर्माण व्यवसायीको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसद्मै कुरा उठाइसकेको स्मरण गराउँदै शाहीले अब अर्थ समितिमा पनि यो विषय प्राथमिकतासहित उठान गर्ने प्रतिबद्धता जनाए । ‘सरकारले काम लगाएपछि रकम भुक्तानी गर्नैपर्छ, आफ्नो अधिकार पाउनका लागि निर्माण व्यवसायी सडकमै ओर्लनु राज्यकै कमजोरी हो,’ उनले भने ।

निर्माण उद्योगमा धेरै समस्या रहेको स्वीकार गर्दै शाहीले त्यस्ता समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमै संशोधन आवश्यक रहेको बताए । मुलुकको कर्मचारीतन्त्रका कारण पनि निर्माण व्यवसायीहरू मारमा परेको उनको भनाइ थियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए । म्याद थप मात्र समस्याको समाधान नभएको भन्दै अध्यक्ष सिंहले म्याद थपसँगै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको धारणा राखे । 

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिटी फुकेर ध्यानाकर्षण गराइएको बताए । महासंघका प्रवक्तासमेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले सोमबारको विरोध कार्यक्रमलाई आगामी शुक्रबारसम्म निरन्तरता दिइने जानकारी दिए । 

घिमिरेले शुक्रबारसम्म पनि माग पूरा नभए साउन २८ बाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिने बताए । २८ साउनदेखि अत्यावश्यकबाहेकका सबै निर्माणकार्य अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ । त्यस्तै, विकासे विभागहरूमा पालैपालो बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । 

तेस्रो चरणकै कार्यक्रमअन्तर्गत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्नेछ ।
आफ्ना माग पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घन्टा सडकमा चक्काजाम गरी नाका बन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । महासंघको जारी आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्रका विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाइसकेका छन् । 

सुझावित समाचार