क्यानडा अझै रिक्त
कुल ३३ राजदूतमध्ये अहिले परराष्ट्रबाट १७ जना, परराष्ट्रबाहिरबाट १५ जना
संसदीय सुनुवाइ समितिले ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । न्युयोर्क, फ्रान्स, जेनेभा, युएई, थाइल्यान्ड र कुवेतको राजदूतका लागि सरकारले २६ असारमा सिफारिस गरेका नाम बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो । क्यानडामा अझै राजदूत रिक्त छ ।
राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा लोकबहादुर थापा, राष्ट्रसंघीय स्थायी नियोग जेनेभाका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर ओली, युएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्सालको नाम अनुमोदन भएको हो । अब उनीहरूको नाम परराष्ट्र मन्त्रालयले सम्बन्धित देश तथा राष्ट्रसंघीय नियोगमा सहमति (एग्रिमो)का लागि पठाउनेछ । एग्रिमो आएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गरेर पद तथा गोपनीयताको शपथग्रहण गराउनेछन् ।
सरकारले क्यानडाका लागि अहिलेसम्म राजदूत सिफारिस गरेको छैन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुंगाना स्वदेश फर्किसकेका छन् । राजदूत एवं स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्ने उल्लेख भए पनि क्यानडाका लागि नयाँ राजदूत सिफारिस प्रक्रिया सुरु भएको छैन ।
स्रोतका अनुसार परराष्ट्रसचिव भरतराज पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गर्ने सरकारी योजना थियो । तर, पौड्याल न्युयोर्कबाहेक अन्त राजदूत नहुने अडानमा छन् । ‘क्यानडा वास्तवमा परराष्ट्रसचिवका लागि खाली राखिएको हो, उहाँले मान्नुभएन भने राजनीतिक पृष्ठभूमिका कसैलाई पठाउने सम्भावना हुन्छ,’ सरकारी स्रोतले भन्यो । परराष्ट्रसचिव पौड्यालको कार्यकाल आगामी मंसिरसम्म छ ।
विभिन्न मुलुकमा नेपालका ३० राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि तीनवटा स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । ३३ राजदूतमध्ये अहिले सिफारिस गरिएकासमेत जोड्दा परराष्ट्र सेवाका १७ जना र परराष्ट्रबाहिरका १५ जना छन् । परराष्ट्रसचिवले स्वीकार नगरेमा नेपाली कांग्रेसको कोटाबाट क्यानडाका लागि राजदूत सिफारिस गर्ने सरकारको तयारी छ । पहिलोपटक परराष्ट्र सेवाका राजदूतहरूको संख्या बढी देखिएको हो ।
राजनीतिक भागबन्डाका आधारमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, रुस, कतार, दक्षिण कोरिया, दक्षिण अफ्रिका, डेनमार्क, श्रीलंका, स्पेन, साउदी अरेबिया र इजरायलमा राजदूत छन् । परराष्ट्रबाट प्रस्तावित ६ जना राजदूतबाहेक पाकिस्तान, जापान, बंगलादेश, बहराइन, म्यानमार, जर्मनी, ब्राजिल, इजिप्ट, ओमान, अस्ट्रिया, बेल्जियममा राजदूत छन् ।
परराष्ट्रबाहिरका राजदूतहरू (१५जना)
- डा. शंकरप्रसाद शर्मा, भारत
- विष्णुपुकार श्रेष्ठ, चीन
- श्रीधर खत्री, अमेरिका
- ज्ञानचन्द्र आचार्य, बेलायत
- डा. ज्योति प्याकुरेल, दक्षिण कोरिया
- डा. मिलनराज तुलाधर, रुस
- डा. नरेशविक्रम ढकाल, कतार
- डिल्लीराज पौडेल, मलेसिया
- दानबहादुर तामाङ, दक्षिण अफ्रिका
- वासुदेव मिश्र, श्रीलंका
- डा. रामस्वार्थ राय, डेनमार्क
- कैलाश पाेखरेल, अस्ट्रेलिया
- शर्मिला पराजुली ढकाल, स्पेन
- नवराज सुवेदी, साउदी अरब
- कान्ता रिजाल, इजरायल
परराष्ट्र सेवाका राजदूतहरू (१७)
- तापस अधिकारी, पाकिस्तान
- दुर्गाबहादुर सुवेदी, जापान
- घनश्याम भण्डारी, बंगलादेश
- तीर्थराज वाग्ले, बहराइन
- हरिश्चन्द्र घिमिरे, म्यानमार
- रामकाजी खड्का, जर्मनी
- निर्मलकुमार काफ्ले, ब्राजिल
- सुशीलकुमार लम्साल, इजिप्ट
- डोरनाथ अर्याल, ओमान
- भरतकुमार रेग्मी, अस्ट्रिया
- गेहेन्द्र राजभण्डारी, बेल्जियम
संसदीय समितिबाट अनुमोदित परराष्ट्रका प्रस्तावित
- लोकबहादुर थापा, न्युयोर्क
- रामप्रसाद सुवेदी, जेनेभा
- धनबहादुर वली, थाइल्यान्ड
- घनश्याम लम्साल, कुवेत
- तेजबहादुर क्षेत्री, युएई
- सुधीर भट्टराई, फ्रान्स