स्वर्ण अक्षरमा जीर्णोद्धार गरिँदै प्रज्ञा पारमिता सूत्र [तस्बिरहरू]

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

प्रज्ञा पारमिता सूत्रको जीर्णोद्धार काम अहिले पाटनमा रहेको गोल्डेन टेम्पलमा भइरहेको छ। ६ जना कलाकारले अहिले रञ्जना लिपिमा रहेको भगवान् बुद्धले भनेका वचनहरूलाई सुनको सहायतामा जीर्णोद्धार गर्दै छन्। 

‘दिनदिनै पढ्ने, खोल्ने र बन्द गर्ने हुँदा यो जीर्ण हुँदै गएको हुन्छ। लेखिएका ती सुनका अक्षर मेटिने र नबुझिने हुँदै गएको हुन्छ। हामीले यसको जीर्णोद्धार गर्दै छौँ। प्रज्ञा पारमितामा भगवान् बुद्धले राजगिरको गिर्दकुट पर्वतमा गर्नुभएको धर्मदेक्षणाको सूत्रलाई नै लेखिएको हुन्छ। यस सूत्रलाई हामीले अनुशरण गर्न सक्यौँ भने हामीले यही जन्ममा बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने लेखिएको छ,’ जीर्णोद्धारमा संलग्न रहेका एक कलाकार हेमरत्न बज्रचार्यले नयाँ पत्रिकालाई भने।

अहिले जीर्णोद्धार भइरहेको प्रज्ञा पारमितामा ३२ परिवर्त र आठ हजार श्लोक छन्, जसलाई अष्टसहर्षिका प्रज्ञा पारमिता भनेर चिनिन्छ। बौद्ध धर्ममा यस प्रकारका २५ हजार श्लोक र एक लाख श्लोकसम्म भएका प्रज्ञा पारमिता पनि छन्, तर तीमध्येको मध्यम श्लोक भएको प्रज्ञा पारमिताको जीर्णोद्धार भइरहेको बज्रचार्यले भने।

पुरुषोत्तममासको समयमा कुनै प्रकारका धार्मिक र पुण्यको काम नगरिने भएकाले हरेक तीन वर्षको अन्तरालमा आउने मलमासको समयमा यसको जीर्णोद्धार र पुनर्लेखन गर्ने गरिन्छ। बज्राचार्यले अहिलेसम्म १० पटक जीर्णोद्धार गरिसकेका छन्।

नेवाः भाषामा ‘चलो अर्थात् सुनको धुलोलाई पकाएको आलाससँग मिसाएर मसीजस्तो बनाएर पहिल्यै लेखिएको किताबमा रहेका अक्षरमाथि रञ्जना लिपिअनुसार लेख्ने गर्छन्। 

कुनै खण्ड च्यातिएको वा नबुझिने र अक्षर नै मेटिएका छन् भने किताबको सहायतामा कलाकारहरूले पुनर्लेखन गर्ने गर्छन्। यसरी जीर्णोद्धार गर्दा एकदेखि तीन तोलासम्म सुन लाग्ने गरेको छ। मलमासको समयमा हुने यो जीर्णोद्धारका लागि छुट्टै गुठीसमेत गठन गरेर भक्तजनहरूले दिने दानबाट हुने गरेको छ।

सुझावित समाचार