अनुसन्धानका लागि भन्दै व्यापारीको सुन बरामद गरेर घुस लिने डिएसपी केसी बर्खास्त

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

घुस लेनदेनमा संलग्न भएको ठहर गरी गृह मन्त्रालयले नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई मंगलबार बर्खास्त गरिएको हो ।

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले केसीको निवासबाट ३५ तोला सुन र स्रोत नखुलेको रकम बरामद गरेको थियो । त्यतिवेला उनी इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख थिए । 

बुटवलका एक व्यवसायीको सुन अनुसन्धानका नाममा बरामद गरी उनले १५ लाख घुस मागेको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि गोप्य टोली खटाएको थियो । कास्कीमा सरुवा भएर रमाना लिने दिन उनी रंगेहात पक्राउ परेका थिए । 

प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा केसीले गम्भीर किसिमको अनुचित कार्य गरेको निष्कर्ष निकाली कानुनी कारबाहीको सिफारिस गरेको थियो । जसअनुसार उनी बर्खास्त भएका हुन् । उनी पुसदेखि नै निलम्बनमा थिए । 

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । केसीले घुस लिएको रकम श्रीमतीको बैंक खातामार्फत लेनदेन गरेकोसमेत अख्तियारको छानबिनमा खुलेको छ । अख्तियारले उनीविरुद्ध छुट्टै मुद्दा दायरको तयारी गरेको छ ।

सुझावित समाचार