लम्पी स्किन रोगबाट बाँकेमा अहिलेसम्म २५ पशुचौपायाको मृत्यु भएको छ । अहिलेसम्म ३५ हजार पशुमा लम्पी स्किनको संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र नेपालगन्जकी प्रमुख कमला अधिकारीले जानकारी दिइन्।
बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई रहेको उनले बताइन् । लम्पी स्किन रोगको संक्रमण जिल्लाभर फैलिएको उनको भनाइ छ । उक्त रोगबाट पशुचौपायालाई जोगाउन खोप दिन थालिएको छ । ‘चौपायामा देखिएको ‘लम्पी स्किन’ नियन्त्रण गर्न खोप दिन थालिएको छ,’ उनले भनिन् ।
केन्द्र प्रमुख अधिकारीका अनुसार बाँकेमा ६ हजार दुई सय डोज खोप आएको छ । त्यसमध्ये दुई हजार पाँच सय खोप तीनवटा पालिकामा वितरण गरिएको छ । ‘पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोगविरुद्धको खोप दिन सुरु गरेका छौँ । दोस्रो चरणमा किसानको घर–घरमा गएर चौपायालाई खोप दिन्छौँ,’ उनले भनिन् । बाँकेका आठवटा पालिकामध्ये कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा ६–६ सयका दरले खोप वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन् । ‘खोप दिन प्राविधिक टोली फिल्डमा परिचालन भइसकेका छन्,’ उनले भनिन् ।
जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्रका पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको बताए । घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै उनले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको जानकारी दिए । ‘तालिमप्राप्त ५० जना ‘भ्याक्सिनेटर’ले पालिकामा पुगेर शुक्रबारदेखि खोप लगाउन सुरु गरेका छन्,’ ओलीले भने ।
नेपालगन्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त ‘भाइरस’को संक्रमण देखिएको छ । उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका पशुचौपाया प्रभावित भएका भेटेरेनरी अस्पताल प्रमुख अधिकारीले जानकारी दिइन् ।