हिमाली जिल्ला मनाङका पशु चौपायामा पनि लम्पी स्किन रोग देखिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका– २ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए ।
उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए । ‘बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ,’ कुसुमले भने ।
किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताए। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा संक्रमण देखिएको उनले बताए । उक्त गोरु होचो कदको रहेको छ ।
‘गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ । अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रबन्ध मिलाएका छौँ,’ कुसुमले भने, ‘मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो । यहाँ दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप माैज्दात छ ।’
मंगलबारबाट चामे गाउँपालिकाका गाईगोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिनेछ। मनाङमा गाईगोरुको संख्या एक हजार पाँच सयको हाराहारीमा छ ।