चालकले थाहै नपाई सवारीसाधनको गति पछ्याउने यन्त्र जडान गरिँदै

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण
चालकले थाहै नपाई सवारीसाधनको गति पछ्याउने यन्त्र जडान गरिँदै

कोटेश्वरमा जडान गरिएको अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स । तस्बिर : संजित परियार/नयाँ पत्रिका

‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ नामक उपकरणले तीव्र गतिमा हुइँकिरहेका सवारीसाधन पछ्याउने 

ट्राफिक प्रहरीले देखेका छैनन् भन्दै तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाउँदै हुनुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने होसियार ! उपत्यकाका विभिन्न स्थानमा चालकले थाहा नै नपाउने गरी सवारीसाधनको गति रेकर्ड हुने यन्त्र जडान भइरहेको छ । तीव्र गतिमा सवारीसाधन चलाउने चालक जुनसुकै वेला ट्रफिक प्रहरीको फन्दामा पर्न सक्छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति नियन्त्रण गर्न उपत्यकाका केही स्थानमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ अर्थात् गतिमापन गर्ने यन्त्र–उपकरण जडान गर्दै छ । जुन उपकरणले तीव्र गतिमा हुइँकिरहेका सवारीसाधनलाई मात्रै पछ्याउँछ र त्यसको रेकर्ड उपत्यका ट्राफिक प्रहरी कन्ट्रोल रुमको ‘सिस्डक सेभ’मा जम्मा भएर बस्छ ।

राजेन्द्रप्रसाद भट्ट प्रवक्ता, उपत्यका ट्राफिक प्रहरी कार्यालय 
यो सिसी क्यामराजस्तै उपकरण हो । तीव्र गतिमा भएका सवारीसाधनलाई चालकले थाहा नपाउने गरी यसले पछ्याउँछ र उनीहरूको रेकर्ड राख्छ । पहिलोपटक उपत्यकाका तीन स्थानमा यो मेसिन राख्न लागिएको हो, यसअघि ‘लिडार गन’ मेसिन जडान भइसकेको छ ।

त्यसका आधारमा तीव्र गतिमा सवारीसाधन हाँक्ने सवारीधनीलाई ट्राफिक प्रहरीले कारबाही गर्छ । ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा यस्तो उपकरण कोटेश्वर, महालक्ष्मी, सानेपा र धोबीघाटको बीचमा जडान गर्दै छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार उक्त उपकरण नेपालका सडकमा पहिलोपटक जडान गर्न लागिएको हो ।

यसअघि ‘लिडार गन’ मेसिन जडान गरिएको थियो । तर, त्यसभन्दा पनि स्मार्ट गति नाप्ने यन्त्र यसपटक जडान गर्न लागिएको हो । असारको अन्तिमसम्म ती ठाउँहरूमा उपकरण जडान भइसक्नेछ । ‘यो उपकरण सिसी क्यामराजस्तै हो, चालकले थाहा नपाउने गरी मेसिनले तीव्र गतिमा भएका सवारीसाधनलाई पछ्याउँछ र उनीहरूको रेकर्ड राख्छ,’ उनले भने, ‘पहिलोपटक उपत्यकाका तीन स्थानमा यो मेसिन राख्न लागिएको हो, यसअघि लिडार गन मेसिन जडान भइसकेको छ ।’ उनले तोकिएको गतिभन्दा बढी गति छ भने चालक कारबाहीमा पर्नेछन् । यो मेसिनले सवारीसाधनको फोटो र डिटेल रिड गर्छ । सो आधारमा कारबाही गर्न सहज हुन्छ ।

सडक विभागका अनुसार हाल कोटेश्वर–कलंकी र कोटेश्वर–भक्तपुर सडकमा प्रतिघन्टा ५० किमि गतिमा सवारीसाधन चलाउन पाइन्छ । भित्री सडकहरूमा प्रतिघन्टा ३० किमि गति हुनुपर्छ । यसबाहेक स्कुल, कलेज र मानिसको मुभमेन्ट बढी भएको ठाउँमा पनि तीव्र गतिमा सवारी हाँक्न पाइँदैन । यसरी सवारीसाधनको गति छुट्याउने कार्य सडक विभाग तथा सडकसँग सम्बन्धित निकायकै हो । सडक बनाउने निकायले कुन सडकको गति कति भनेर तोकिदिएको हुन्छ ।

सोही आधारमा ट्राफिक प्रहरीले कारबाही गर्ने प्रवक्ता भट्टको भनाइ छ । उनका अनुसार यसअघि राखिएको ‘लिडार गन’ले पनि स्पिडमा आएको सवारीसाधनको नम्बर प्लेटको रेकर्ड राख्छ । ट्राफिकसँग हाल १० वटा लिडार गन छन् । यो ट्राफिक आफैँले लिएर हिँड्न मिल्छ । ‘अटोमेटिक नम्बर प्लेट रिकग्नेसन सिस्टम विथ स्पिड डिटेक्स’ निश्चित ठाउँमा जडान गरेर राखिन्छ । यो उपकरणको चिप ट्राफिक कन्ट्रोल रुमको सिस्टमसँग जोडिएकाले सहज हुन्छ । 

सुझावित समाचार