महेन्द्रनगरका व्यवसायीले सडकमै रोपे धान

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण
महेन्द्रनगरका व्यवसायीले सडकमै रोपे धान

कालोपत्रे नभएपछि विरोधमा सडकमा नै रोपाइँ गर्दै स्थानीय

सडक निर्माणमा लामो समयदेखि बेवास्ता हुँदा सास्ती खेप्दै आएका व्यवसायी र स्थानीयले पानी जमेको सडकमा धान रोपेर जनाए विरोध

बर्खा सुरु भएसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजार हिलाम्मे हुन्छ । ठाउँठाउँमा परेका खाडलले यात्रुलाई सास्ती दिलाउँछ । स्थानीयले सडक निर्माणका लागि स्थानीयवासी र बजार क्षेत्रका व्यवसायीले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका धेरै भयो । तर, सडक अझै उस्तै छ । आजित भएका उनीहरूले बुधबार सडकमै धान रोपेर विरोध जनाए । 

बसपार्क–चम्मनचोक–क्याम्पस रोड सडकअन्तर्गत खानेपानी कार्यालय पश्चिमतर्फ रहेका व्यवसायीले सडकमै रोपाइँ गरेका हुन् । व्यवसायी रवीन्द्र ओझाले नगरपालिकाले सडक नबनाएपछि सास्ती भोग्दै आएकाले विरोधस्वरूप धान रोपेको बताए । ‘नगरपालिकाले सडक नबनाउँदा सडकछेउछाउमा खाल्डैखाल्डा छन् । घाम लाग्दा धुलाम्मे हुन्छ, अब बर्खाभरि हिलाम्मे हुन्छ । त्यसैले धान रोपेर ध्यानाकर्षण गराउन खोजेका हौँ,’ उनले भने । उनीहरूले धान रोपेको स्थानमा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख सुशीला लेखक र ४ का वडाध्यक्ष सुशीलकुमार भट्टको फोटोसमेत टाँसेका छन् । 

क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) अन्तर्गत महेन्द्रनगर सडक निर्माण अघि बढेको थियो । उक्त स्थानमा विवाद भएपछि पालिकाले सडक निर्माण कार्य रोकेको छ । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले उक्त क्षेत्रमा सडक विस्तारका क्रममा नगर विकास समितिको २२ सटरमा व्यवसाय गर्दै आएका व्यवसायीको वैकल्पिक व्यवस्था नहुँदासम्म सडक निर्माणदाता एडिबीले काम अघि नबढाएपछि काम रोकिएको बताए । 

‘एडिबीको आफ्नै अन्तर्राष्ट्रिय मूल्य–मान्यता छ,’ उनले भने, ‘सोहीअनुरूप सो क्षेत्रमा सडक बन्न ढिलाइ भएको हो । वडा नम्बर ४ का अध्यक्षको अध्यक्षतामा कार्यदल बनेको छ, जीविकोपार्जन गर्दैै आएका व्यवसायीको वैकल्पिक व्यवस्था भएपछि उक्त घर भत्काएर सडक निर्माण अघि बढ्छ ।’

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा पाँच गल्लीसहितको सडक स्तरोन्नति भइरहेको छ । १० देखि १५ मिटर चौडाइका १४ किलोमिटर सडक निर्माणका लागि ८८ करोड रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।  क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले निर्माण कम्पनी निर्माण कम्पनी जेडआइसिसी लामा जेभीसँग ३१ जेठ ०७९ मा काम सक्नुपर्ने गरी ३ असार ०७७ मा सम्झौता गरेको थियो । पहिलोपटक म्याद सकिएर दोस्रोपटक ६ महिनाका लागि थप गरे पनि ठेकेदारले अझै काम सम्पन्न गर्न सकेको छैन । पहिलोपटक थपिएको समय ०७९ पुसमा सकिइसकेको छ । दोस्रोपटकका लागि म्याद थप माग गरेको ठेकेदार कम्पनीले काममा भने ढिलासुस्ती गरिरहेको छ ।

समाचार सार्वजनिक भएपछि अस्थायी समाधान
सडक नबनेको विरोधमा सडकमै धान रोपेको समाचार नयाँ पत्रिकाको अनलाइन संस्करणमा आएपछि बुधबारै भीमदत्त नगरपालिकाले अस्थायी समाधान खोजेको छ । नगरपालिकाले उक्त क्षेत्रमा अस्थायी मर्मत गराएको छ । भीमदत्त– १८ का वडासदस्य हेमबहादुर बस्नेतले निर्माण कम्पनीलाई ताकेता गरेर खाडल भएको सडक अस्थायी रूपमा मर्मत गरिएको बताए । ‘समाचार आउनेबित्तिकै मेयरसापको ध्यानाकर्षण भयो,’ उनले भने, ‘हामीले ठेकेदार कम्पनीसँग भनेर तत्कालका लागि सडक मर्मत गराएका छौँ । अब केही दिनमै सडक पनि कालोपत्रे हुन्छ ।’ 

See More On

सुझावित समाचार