सिआइबीको त्यो ‘सेक्रेट प्लान’

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

विशेष टोलीको नेतृत्वमा १५ सहायक टोली परिचालन गरेर पक्राउ गरिए हाई प्रोफाइल

पटक–पटकको प्रयासपछि पनि ललितानिवास जग्गा प्रकरणसँग सम्बन्धित मुद्दा अघि नबढेपछि सिआइबी हैरान थियो । किनकि घटनामा ‘हाई प्रोफाइल’ अभियुक्त संलग्न थिए । सिआइबीले घटनालाई फरक ढंगले अनुसन्धान गर्न यसअघि पनि कोसिस नगरेको होइन । तर, सूचना चुहावटका कारण खुलेको फाइल पनि पटक–पटक बन्द भए । किनकि अभियुक्तको चलखेल चर्को थियो । त्यसो हुँदा अभियुक्त खुलेआम हिँडिरहेका थिए । 

सिआइबी घटनाको फाइल पुनः खोल्ने मनस्थितिमा पुग्यो । सूचना लिक हुन सक्ने संशयबीच सिआइबीले महिना दिनअघि पाँच उच्च अधिकृत सम्मिलित विशेष टिम गठन गर्यो । घटनामा जोडिएका हाई प्रोफाइल अभियुक्त छनोट गर्यो । जसमध्ये हिट लिस्टका १५ अभियुक्त सिआइबीको ‘रेड जोन’मा परे । त्यसमा पनि अग्रपंक्तिमा राखिएको थियो– भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङको नाम । 

टिमले उनीहरू बस्ने ठाउँ, बोक्ने टेलिफोन नम्बर, चढ्ने गाडी, हिँड्ने सडक, काम गर्ने कार्यालय गोप्य रूपमा ‘लोकेट’ गर्यो । कथंकदाचित सूचना चुहावट भए उनीहरू भाग्न सक्ने र लुक्न सक्ने ठाउँको समेत सिआइबीले लोकेसन लियो । अभियुक्त हाई प्रोफाइल भएकाले उनीहरूले चलखेल गर्न सक्ने ठाउँ तथा पक्राउपछि आउन सक्ने दबाब र चुनौतीको पनि सिआइबीले विश्लेषण गर्यो । 

जब अप्रेसन ‘मुभ’ हुने अवस्थामा पुग्यो । त्यसपछि सिआइबीले छुट्टाछुट्टै १५ वटा अर्को उपटिम गठन गर्यो । प्रत्येकलाई फरक–फरक व्यक्तिको फोटोसहित लोकेसन, टेलिफोन नम्बर, गाडी नम्बर उपलब्ध गरायो । र, उनीहरूलाई पक्राउ गर्न ‘कन्साइन्मेन्ट’ दियो । सोही ‘कन्साइन्मेन्ट’ पूरा गर्न सिआइबीका १५ उपटिम चार दिनदेखि सक्रिय थिए । जसमध्ये सिआइबीको सात ‘टार्गेट’ सफल भयो । बाँकी आठ टार्गेट भने विविध कारणले पूरा हुन सकेन । 

सुझावित समाचार