पाँचखालमा एक अर्ब लगानीमा महिला उद्यमी हरित औद्योगिक पार्क बन्दै

सय रोपनीको पार्कमा कृषि खाद्य क्षेत्रका ५० उद्योग खुल्ने, स्थानीय उत्पादन प्राथमिकतामा

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

काभ्रेको पाँचखालमा करिब एक अर्ब लगानीमा महिला उद्यमी हरित औद्योगिक पार्क सञ्चालनमा आउने भएको छ । सरकार र पाँचखाल नगरपालिकासँग सहकार्य गरेर देशमै पहिलो महिला उद्यमी पार्क सञ्चालनमा आउन लागेको हो । 

सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा सञ्चालनमा ल्याइने औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँचखालको निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामका रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने घोषणा गरेका छन् ।

उनले औद्योगिक ग्राम निर्माणका लागि ४१ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिसकेका छन् । दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले पाँचखाल परियोजना कार्यान्वयनमा आएपछि अन्य ६ प्रदेशमा पनि महिला उद्यमी औद्योगिक पार्क स्थापनाका लागि बाटो खुल्ने बताइन् । उनले पार्क स्थापनाका लागि महिला उद्यमी हरित औद्योगिक पार्क ऐनका रूपमा कानुन बनाउन पनि सरकारसँग आग्रह गरिन् । यस्ता आयोजना कार्यान्वयनमा केन्द्रित हुँदै राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिका बढाउनुपर्ने उनको जोड थियो । 

महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले पाँचखाल नगरपालिकासँग २५ वर्षका लागि सय रोपनी जग्गा भाडामा लिने सम्झौता भइसकेको बताइन् । ‘यो परियोजना देशको पहिलो र दक्षिण एसियाकै दोस्रो हो,’ उनले भनिन्, ‘यस्ता औद्योगिक पार्कले महिला उद्यमशीलता विकासमा ठूलो टेवा दिनेछ ।’ पार्कमा सेवा क्षेत्रपतर्फ इको–टुरिजम र होमस्टे तथा उत्पादन क्षेत्रतर्फ ५० वटा साना उद्योग स्थापना गरिनेछ, जसमा २५ वटा स्टार्टअप र २५ वटा उद्योग रहनेछन् ।

औद्योगिक पार्कभित्र महिलाले मात्रै उद्यम सञ्चालन गर्न पाउनेछन् । पार्क प्रदूषणमुक्त, फोहोरमैला उचित व्यवस्थापन, फोहोर पानीको पुनः प्रयोग, ऊर्जाको संरक्षणका साथै स्थानीय सामग्री प्रयोग गरी भवनहरू निर्माण गरिनेछ । नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तनअनुकूल रणनीतिमार्फत अगाडि बढाउने लक्ष्यका साथ औद्योगिक पार्कलाई ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’का रूपमा ब्रान्डिङ र प्रचार गरिने रिजालले बताइन् ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले महिला उद्यमी औद्योगिक पार्क निर्माणका लागि जग्गा दिने निर्णय भइसकेको बताए । हालसम्म पार्कमा केन्द्रीय सरकार र स्थानीय तहको गरी सवा दुई करोडभन्दा बढी लगानी भइसकेको छ । पार्कसम्म पुग्ने बाटो कालोपत्रे हुनुका साथै अन्य आवश्यक पूर्वाधार पनि निर्माण भइरहेको उनले बताए । ‘पार्कभित्र खाद्य कृषिमा आधारित उत्पादनको मूल्य अभिवृद्धि गरेर आन्तरिक बजारसहित अन्तर्राष्ट्रिय बजारसम्म पठाउने योजना छ,’ उनले भने, ‘अझ पाँचखाल क्षेत्रमा उत्पादन हुने उत्पादनलाई प्रशोधन गरेर बजारमा पठाइनेछ ।’

पाँचखालको पार्क देशमा महिला उद्यमशीलता विकासका लागि ठूलो उपलब्धि भएको मेयर खरेलले बताए । महिलालाई उद्यमी बनाउन तालिमको समेत व्यवस्था गरिने भएको छ । यो पार्क सञ्चालनमा आउँदा करिब पाँच सयले प्रत्यक्ष रोजगारी पाउनेछन् भने अप्रत्यक्ष रूपमा तीन–चार हजारसम्म जोडिने बताइएको छ । पार्कभित्र उद्योग स्थापनाका लागि विभिन्न बैंकले कर्जा लगानी गरिदिनेछन् । पार्कले किसानको उत्पादकत्व वृद्धि, उच्च गुणस्तरको प्रशोधन पूर्वाधार निर्माण, प्रभावकारी आपूर्ति शृंखला प्रणाली र रोजगारी सिर्जना गर्ने उनको विश्वास छ ।

मञ्चकी वरिष्ठ उपाध्यक्ष एवं बागमती प्रदेश सांसद याकिला शेर्पाले महिला उद्यमी पार्कको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग लबिङ गर्ने बताइन् । सरकारले बजेटमै समेटेर बजेट विनियोजन गरेपछि तीन–चार वर्षदेखि गृहकार्य गरेको पार्कले सार्थकता पाउन थालेको भन्दै महिला उद्यमीहरू उत्साहित भएका छन् ।

सुझावित समाचार