जलहरीको विषयमा माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाइयो

शनिबार, १३ जेठ, २०८०
डिजिटल संस्करण

‘कोभिड संकटको वेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको’ भन्ने माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संघीय संसद्को रेकर्डबाट हटाइएको छ। 

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्। गत जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीमाथि आरोप लगाउँदै सो अभिव्यक्ति दिएको भन्दै एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध पारेको थियो।

एमालेले सांसद दाहालको सो अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिँदै आएको थियो। शनिबार प्रधानमन्त्री प्रचण्डले सांसद दाहालको सो अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद् बैठक सुचारु हुन दिएको हो।

सुझावित समाचार