बागमती प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना यही जेठ १४, १५ र १६ गते तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै प्रदेशस्तरमा तीन दिनसम्म दिवस मनाउने निर्णय गरिएको हो।
मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रको उपलब्धिलाई जनतासमक्ष पुर्याउन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
मन्त्री श्रेष्ठका अनुसार तीन दिनसम्म रक्तदान, सरसफाइ, दीपावली, राष्ट्रिय झण्डा झन्डोत्तलन गर्नेलगायतका कार्यक्रम गरिनेछ। यस्तै, गणतन्त्र स्थापनाको १५ वर्षः अवसर र चुनौती शीर्षकमा लेखन प्रतियोगिता र सञ्चार माध्यममार्फत अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय भएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए।
दिवसको अवसरमा जेठ १५ गते बिहान हेटौँडामा प्रभातफेरीसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा कार्यक्रम गरिने भएको छ।