माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको अनुसन्धान प्रक्रियामा सरकारलाई सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो प्रकरणमा मुछिएकाहरूलाई राजनीतिक संरक्षण दिने, कुनै पनि दबाब र प्रभावमा नपरी स्वतन्त्र ढंगले छानबिनका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताएका हुन्।
सांसद दाहालले पञ्चायतकालदेखि यताका सबैकाे निजी सम्पत्तिको अभिलखीकरण गरी स्रोत नखुलेका सम्पत्तिको राष्ट्रियकरण गर्ने गरी कानुनी व्यवस्था गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।
उनले भने, ‘सुशासन प्रदान गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सत्तासाझेदार दल र सरकारको संयुक्त संकल्प नै हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनी अर्बौँको गिी गर्ने गिरोहको गिरफ्तारी प्रक्रिया जारी छ । र, हामी सबैलाई थाहा छ यो अपराध मात्र नभई यो राष्ट्रविरुद्धको जघन्य अपराध हो । यसलाई माफी दिन सकिँदैन । र, अपराधीको पार्टी हुँदैन । भ्रष्टाचारीको पार्टी हुँदैन । त्यसकारण कुनै पार्टीले पनि भ्रष्टाचार गर्नुहुँदैन । त्यसकारण भ्रष्टाचारीहरूलाई राजनीतिक संरक्षण दिने र कुनै प्रभाव र दबाबमा नराखीकन स्वतन्त्र ढंगले अनुसन्धान प्रक्रियामा सहयोग गर्नको निम्ति सम्माननीय सभामुखमार्फत म सबैमा हार्दिक आग्रह गर्दछु।’
सांसद दाहालले मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने वर्तमान सरकार र त्यसमा आबद्ध गठबन्धन दलहरूको संयुक्त संकल्प भएको पनि बताए।