काठमाडौं उपत्यकामा सुधारिएको बस सेवा सञ्चालनका लागि सरकारले पटक–पटक अध्ययन गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । हाल उपत्यकाको सार्वजनिक यातायात सेवा भद्रगोल अवस्थामा छ । यसअघि चारवटा संस्थाले उपत्यकामा बिआरटी (बस र्यापिड ट्रान्जिट) सिस्टमबाट बस सेवा सञ्चालन गर्नेबारे अध्ययन गरेर प्रशस्त आधार दिएका थिए । तैपनि, त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।
उपत्यकामा भइरहेको ट्राफिक जाम कम गर्न र यात्रुलाई धेरै समय स्टपहरूमा रोक्नुपर्ने झन्झन्टलाई हटाउँदै सार्वजनिक यातायातप्रति सर्वसाधारणको आकर्षण बढाउन दु्रत गतिको सुधारिएको बस सेवा चाहिन्छ । तर, कार्यान्वयनमा भने सरकार चुकेको छ । पछिल्लो समय यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजकत्वमा १३ वैशाखमा सो विषयमै अध्ययन गर्न फेरि अर्को समिति गठन भएको थियो । अध्ययन समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।
यातायातविज्ञ आशिष गजुरेलले सरकारले पटक–पटक सस्टेनेबल पब्लिक टान्सपोर्टमा अध्ययन गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताए । ‘अध्ययन गरेर मात्रै हुँदैन, अध्ययन प्रतिवेदनलाई कार्यान्वयन पनि गर्नुपर्छ,’ उनले भने, ‘तर, बिआरटी बस सेवा सञ्चालनबारे पहिले नै गरेका अध्ययन रिपोर्ट पर्याप्त हुँदाहुँदै फेरि पनि अध्ययन गर्न समिति बनाएको छ । कार्यान्वयन गर्ने वेलामा अध्ययन मात्रै भएर हुँदैन ।’ उनले यसअघि नै बिआरटी तथा सुधारिएको बस सेवा सञ्चालनबारे भएको अध्ययनलाई आधार मानेर सरकारले काम गर्नुपर्ने बताए ।
सुझाव कार्यान्वयन गर्ने वेला फेरि अध्ययन
उपत्यकाभित्र सुधारिएको डेडिकेटेड बस सेवा सञ्चालनका लागि १२ वर्षअघि जाइका, पाँच वर्षअघि एडिबी, चार वर्षअघि लगानी बोर्ड र सात महिनाअघि नगर विकास कोषले अध्ययन गरिसकेका छन् । यी निकायले उपत्यकामा ‘सहरी दिगो यातायात र सुधारिएको बस सेवा’ सञ्चालनबारे अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेका छन् । तर, सरकारी निकायले यसको कार्यान्वयन गर्नुको साटो फेरि अध्ययनमै लागेको छ । १३ वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययनका लागि फेरि समिति गठन गरेको छ ।
बिआरटी सेवालाई सुरक्षित रूपमा यात्रुलाई छिटो गन्तव्यमा पुर्याउने बसका रूपमा लिइन्छ । हालसम्म नेपालमा यस किसिमको बस सेवा सञ्चालन हुन सकिरहेको छैन । यसअघि ११ वैशाखमा सरकारले यस्तो किसिमको बस सेवा सञ्चालन गर्न विज्ञ टोलीलाई बोलाएर छलफलसमेत गरेको थियो । यातायातविज्ञ, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतसँग छलफल गरेको थियो ।
सहभागीहरूले यस प्रकारको बस सेवा सञ्चालन औचित्य रहेको बताएका थिए । विज्ञ टोलीले यस प्रकारको बस सेवा सञ्चालनको औचित्यता बताए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फेरि अध्ययन समिति बनाएको छ । समितिको समयसीमासमेत तोकिएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले यसअघिका अध्ययनसँगै पछिल्लो अध्ययन पनि आवश्यक भएको बताए । ‘यसबारेमा हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘यस प्रकारको बस सेवा प्रभावकारी हुने वा नहुने अध्ययनपछि मात्र थाहा हुन्छ ।’
के हो बिआरटी बस सेवा ?
यस्तो किसिमको नियममा चलाइने बस सेवालाई सुधारिएको बस सेवा भनिन्छ । जहाँ बसलाई गुड्न छुट्टै लेन, नियम, टाइमकार्ड, रुट तोकिन्छ । सरकारले बस र्यापिड ट्रान्जिटको नियम लागू गरेपछि बस यातायात व्यवस्था विभागसँग अनुमति लिएर निजी बस कम्पनीहरूले यो सिस्टममा बस सञ्चालन गर्न सक्नेछन् । यो नियमअनुसार ‘प्राइरिटी सिंगलिङ सिस्टम’मा बस सञ्चालन गरिन्छ । यातायातविज्ञ गजुरेलका अनुसार बिआरटी सुधारिएको बस सेवा हो । यसमा छुट्टै नियम हुन्छ । स्तरीय बस हुन्छन् । तालिकाअनुसार बसलाई गुड्न दिइन्छ । भाडा तिर्न कार्ड सिस्टम वा साप्ताहिक र मासिक रूपमा आफू चढ्ने रुटको पैसा तिरेर अग्रिम टिकट काट्न सकिन्छ । ‘यस्तो किसिमको बस सेवा काठमाडौंलगायत देशका अन्य सहरमा आवश्यक छ,’ उनले भने, ‘यो सिस्टममा बस सञ्चालन गर्दा ट्राफिक जामको समस्या केही कम हुन्छ ।’
बिआरटी बस सेवा सञ्चालनका लागि सडकमा छुट्टै सिग्नलिङ सिस्टम हुने र रातो बत्ती वा अन्य सवारीसाधन ट्राफिक जाममा परेका वेला ट्राफिकले यस्तो किमिमको बस सेवालाई नरोक्ने जानकारी दिए । यो प्रणालीबाट सञ्चालन भएका बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०–९० सेकेन्डको समय तोकिनेछ । यदि नियम उल्लंघन गरे ट्राफिकले कारबाही गर्नेछ । यी बसको निगरानी राख्न ट्राफिक प्रहरीले छुट्टै टिम राख्नेछ । यस्तो बस सेवा सञ्चालनका लागि सरकारले भाडादर पनि तोक्नेछ ।