नीतिगत अस्थिरताले विद्युतीय सवारीको प्रवर्द्धनमा समस्या

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण

नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्द्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ विषयमा कार्यक्रममा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा व्यवसायीहरूले जोड दिएका हुन्।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले इमोबिलिटी अबको भविष्य भएकाले सरकारले यो विषयमा स्पष्ट नीति लिनुपर्ने बताए। 
‘सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कुल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ,’ उनले भने, ‘तर, प्रत्येक वर्षको बजेटमा विद्युतीय सवारीमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न सकेका छैनन्।’ 

यस्तै, प्रत्येक वर्षको बजेटमार्फत करका दर हेरफेर हुँदा सवारी व्यवसायीले समेत ढुक्कले लगानी गर्न नसक्दा विद्युतीय सवारीको प्रयोग व्यापक रूपमा बढ्न नसकेको श्रेष्ठको भनाइ छ।

हाल नेपालमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधारसमेत बन्दै गएको भन्दै आगामी बजेटले विद्युतीय सवारीमैत्री नीतिगत व्यवस्था हुनुपर्ने उनको भनाइ छ। उनका अनुसार हाल नेपालमा विद्युतीय सवारी चार्ज गर्नलाई ५८ स्थानमा डिसी र ३०० स्थानमा एसी चार्जर रहेका छन्। 

श्रेष्ठले थपे ‘विद्युत प्राधिकरणले ४० वटा डिसी चार्जर सञ्चालनमा ल्याएको छ । राजमार्ग १०० किलोमिटरको दूरीमा स्टेसन भए पनि अझै अपुग छ।’ श्रेष्ठका अनुसार खेर गएको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारीसाधनलाई बढीभन्दा बढी प्रयोगमा ल्याउनुपर्छ। 

नाडाकी केन्द्रीय सदस्य तथा सामेक्स इंककी प्रबन्धनिर्देशक एमुना श्रेष्ठले अगामी बजेटमार्फत विद्युतीय सवारीमा सरकारले स्थिर नीति लिनुपर्ने बताइन्। यस्तो स्थिर नीति कम्तीमा २–३ वर्षसम्म कायम हुनुपर्ने भन्दै उनले त्यसो भए मात्र नेपालमा विद्युतीय सवारीको संख्या र प्रयोगकर्ता उकालो लाग्ने बताइन्। 

‘सरकारले प्रत्यक वर्ष विद्युतीय सवारी आयातमा कर बढाउने र घटाउने गर्दै आएको छ,’ उनले भनिन्, ‘अस्थिर नीतिले उपभोक्तामा अन्योलताको अवस्था सिर्जना भएको छ।’ सरकारले लिएको १०० किलोवाटसम्मका सवारीलाई मात्रै प्रोत्साहन गर्ने नीतिले उच्च क्षमताका सवारीको संख्या नबढेको श्रेष्ठले बताइन्।

विद्युत् प्राधिकरण र निजी क्षेत्रको संयुक्त सहकार्यमा राष्ट्रिय राजमार्गका ६० देखि ७० किलोमिटर फरकमा चार्जिङ स्टेसनहरू बनिरहेका छन्। यस्तो, अवस्थामा विद्युतीय सवारीको प्रयोग प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।

उनले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथामिकतमा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने धारणा राखे । 

‘मैले यहाँ चार्जिङ स्टेसनको पूर्वाधार पनि बन्दै गरेको सुनेँ,’ मन्त्री ज्वालाले भने, ‘विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ।’

नेपालमा पछिल्लो समय उपभोक्तामा ब्याट्री र रेन्ज एन्जाइटीसमेत घट्दै गएको विज्ञहरूको भनाइ छ। ‘केही वर्षअघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा विश्वास बढ्दै गएको छ,’ विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले भने, ‘यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ।’ 

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सके मात्र पनि विद्युतीय सवारीको बजार बढ्नेमा ज्ञवाली ढुक्क छन्।

यस्तै, नेपाल आयल निगम उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोल पम्ममा चार्जिङ स्टेसन राख्न विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताए। 

‘पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न स्ट्यान्डर्ड बनाउनुपर्छ,’ ठाकुरले भने, ‘चार्जिङ स्टेसन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ।’ 

पेट्रोलियम पदार्थको बिक्रीबाट व्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए। यही नीतिअनुसार निगमले विद्युतीय सवारीसमेत किनेको उनको भनाइ छ।

आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताए। सरकारले तोकेअनुसारको कर संकलन गरिरहे पनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको प्याकुरेलले बताए। 

‘विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेको छ र विश्वको सम्पूर्ण ध्यान नै यसतर्फ केन्द्रित भएको छ,’ प्याकुरेलले भने, ‘यही कारण नेपालले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिन जरुरी छ। र, यसबारे विभागसमेत जानकार छ।’

सुझावित समाचार