कांग्रेस नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न काम गर्ने संकल्प व्यक्त गरेका छन् ।
भारतमा साढे दुई महिना उपचारपछि स्वदेश फर्किएका भण्डारीले विज्ञप्ति जारी गरी आगलागीका घटना न्यूनीकरण गर्न र मृत्युदर कम गर्न पैरवी गर्ने संकल्प गरेको जनाएका हुन् ।
‘जुन दिन अब म बाँँच्छु जस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरू कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरेँ,’ उनले भनेका छन्, ‘त्यसैले मेरो अभियान हुनेछ, ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस् ।’
उनले संघीय सांसदका रूपमा आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
‘संघीय सांसदका हैसियतमा यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि म सदैव लागिपर्नेछु । आगलागीका घटनाहरू न्यूनीकरण गर्ने र त्यस्ता घटना भइहाले दुर्घटनामा परेका नागरिकको शीघ्र उपचारको व्यवस्थाका लागि लागिपर्ने मेरो जीवनको उद्देश्य हुनेछ, उनले भनेका छन्, ‘यसका लागि म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गर्न तयार छु ।’
विज्ञप्तिमा उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै हरेक वर्ष आगलागीबाट सरदर १०० जना नेपालीको ज्यान जाने गरेको उल्लेख गरेका छन् ।
‘०७९ मा ११० जनाको मृत्यु भयो जसमा मेरी आमा पनि हुनुहुन्छ । मैले समयमै र सुविधा सम्पन्न अस्पतालमा उपचारको सुविधा नपाएको भए यो संख्या १११ हुन्थ्यो होला,’ उनले अगाडि लेखेका छन्, ‘म दुर्घटनामा परेपश्चात् यो झन्डै अढाइ महिना मात्रै भएको १२९५ घटनामा परी थप ३४ जनाको ज्यान गइसकेको र १२२ जना घाइते भएको पनि थाहा पाएँ ।’
उनले अहिले बजेट निर्माणका लागि छलफल चलिरहेकाले नेपाल सरकारलाई यो पूर्वाधारसहितको सातवटै प्रदेशमा कमसेकम एक–एकवटा बर्न अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरेका छन् ।
दुर्घटनामा परेपछि सकेसम्म नेपालमै उपचार होस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारेका छन् । ‘मैले चिकित्सकहरू र मेरा आफन्तजन एवं नेताजीहरूलाई सोही आग्रह गरेको थिएँ । तर, यहाँ सम्भव नहुने देखेर चिकित्सकहरूले भारत लैजान सिफारिस गर्नुभयो । म चाहन्छु, आगामी दिनमा कुनै नेपाली आगलागीमा परे पनि नेपालमै उपचार गर्न सक्ने पूर्वाधार तथा जनशक्ति तयार गर्न सकौँ,’ विज्ञप्तिमा भनिएको छ ।
