ड्यामसाइटको टनेलमा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनियो

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्यामसाइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। मकालु गाउँपालिका– ३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो। 

अरुण तेस्रो आयोजनाको ड्यामसाइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए।  

‘टनेलको पानी निष्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो,’ गोदारले भने। अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ। अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो।

टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ। पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ।

सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ। नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ। पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ। रासस 

सुझावित समाचार