विकासमा भन्दा ऋण तिर्न बढी खर्च

सार्वजनिक ऋण २० खर्ब ७० अर्ब पुग्यो, ऋण सेवा खर्च साढे दुई गुणाले बढ्यो

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

चैत मसान्तसम्ममा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा एक खर्ब ७३ अर्ब खर्चिएको छ, जब कि यही अवधिमा पुँजीगत खर्च भने एक खर्ब सात अर्बबराबर मात्रै भएको छ

सरकारले चालू आव ०७९/८० को नौ महिनामा विकास तथा पुँजी निर्माणमा जति खर्च गरेको छ, त्योभन्दा बढी खर्च ऋणको साँवा–ब्याज भुक्तानीमा भएको छ । चैत मसान्तसम्ममा सरकारले एक खर्ब सात अर्ब २४ करोडबराबर पुँजीगत खर्च गरेको छ । जुन सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा भएको खर्चभन्दा ६६ अर्ब कम हो । 

सरकारको सार्वजनिक ऋणसँगै साँवा फिर्ता र ब्याज भुक्तानीमा हुने खर्च उच्चदरमा बढेको छ । चालू आर्थिक वर्षको नौ महिनामा सरकारले ऋणको साँवा फिर्ता र ब्याज भुक्तानीमा मात्रै एक खर्ब ७३ अर्ब खर्चिएको छ । जुन गएको आवको यही अवधिको तुलनामा साढे दुई गुणाले बढी हो । 

चैत मसान्तसम्ममा सरकारले साँवा फिर्तातर्फ एक खर्ब २४ अर्ब २१ करोड र ब्याज भुक्तानीमा ४९ अर्ब १३ करोड गरी ऋण सेवाअन्तर्गत कुल एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९ अर्ब ३६ करोडले बढी हो । गत आव ०७८/७९ को चैत मसान्तसम्ममा सरकारले ऋण सेवाअन्तर्गत साँवा फिर्ता तथा ब्याज भुक्तानीमा ७३ अर्ब ९८ करोड रुपैयाँ खर्च गरेको थियो । 

पुँजी निर्माण तथा कमाउने क्षमता कम भएको हाम्रो जस्तो देशमा धेरै ऋण हुनु ठीक नहुने पूर्वमहालेखा नियन्त्रक सुरेश प्रधान बताउँछन् । ‘अहिले नेपालीले जन्मिँदै ६०–७० हजारको ऋणभार बोक्नुपरेको छ, ऋण सेवामा हुने खर्चसमेत उच्चदरमा बढिरहेको छ,’ उनले भने, ‘ऋणको सदुपयोग हुनुपर्छ, ऋणबाट पुँजी निर्माण हुनुपर्छ । नत्र ऋण तिर्न ऋण नै लिनुपर्ने वेला आउँछ, जुन ठीक होइन ।’  

सार्वजनिक ऋण पौने २१ खर्ब पुग्यो 
नेपालले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २१ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्ममा आन्तरिक ऋण १० खर्ब दुई अर्ब र बाह्य ऋण १० खर्ब ६७ अर्ब गरी कुल ऋण २० खर्ब ६९ अर्ब ९९ करोड रुपैयाँबराबर पुगेको हो । 

गएको असार मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २० खर्ब १३ अर्ब रुपैयाँबराबर रहेको थियो । यो नौ महिनामा सरकारले एक खर्ब ८० अर्ब ऋण लिएको छ । एक खर्ब २४ अर्ब साँवा फिर्ता गरेको छ । यसबाट ५६ अर्ब ऋण दायित्व बढेको देखिन्छ । 


भूकम्प र कोभिडको असर

कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ऋण भुक्तानीको अनुपातसमेत १.०६ प्रतिशत विन्दुले बढेको छ । आव ०७८/७९ मा जिडिपीमा ऋण भुक्तानीको अनुपात २.५१ प्रतिशत रहेको थियो । चालू आवको चैत मसान्तसम्म आइपुग्दा जिडिपीमा ऋण भुक्तानीको अनुपात ३.५७ प्रतिशत पुगिसकेको छ । त्यसअघि आव ०७७/७८ मा यस्तो अनुपात २.२२ प्रतिशत र आव ०७५/७६ मा २.१७ प्रतिशत थियो ।

खासगरी भूकम्पपछिको पुनर्निर्माण र कोभिडको व्यवस्थापन तथा पुनरुत्थानका कारण नेपाल सरकारको सार्वजनिक ऋण बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मा बताउँछन् । ‘ऋण बढेको छ, त्यससँगै ऋण सेवामा हुने खर्च स्वाभाविक रूपमा बढेको छ । ब्याजदर, विनिमय दरलगायतले पनि ऋण सेवाको खर्च बढाएको छ,’ उनले भने, ‘दिगो स्रोत नभएको हाम्रो जस्तो देशले धेरै ऋण थेग्न पनि सक्दैन । गएको वर्ष ऋण सेवामा १२१ अर्ब खर्च भएको थियो । यस आवमा यस्तो खर्च २३० अर्ब पुग्ने देखिन्छ ।’ 

ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्था आउनु ठीक होइन : सुरेश प्रधान, पूर्वमहालेखा निरीक्षक
अहिले हाम्रो कुल सार्वजनिक ऋण जिडिपीको ४० प्रतिशत हाराहारी पुगेको छ । जुन अन्य देशको तुलनामा धेरैचाहिँ होइन । तर, पुँजी निर्माण हुने तथा कमाउने क्षमता कम भएको हाम्रो जस्तो देशमा धेरै ऋण हुनु पनि ठीक होइन ।

खासगरी ऋण लिएर बनाइएका परियोजनाले नै ऋण तिर्न सक्नुपर्छ । सोहीअनुसार ऋण व्यवस्थापन तथा परियोजना निर्माण र सञ्चालन गरिनुपर्छ । मेलम्ची खानेपानी परियोजनाका लागि लिइएको ऋण सोही परियोजनाको आम्दानीबाट तिर्नुपर्छ । यसो हुन सकेन भने ऋणको भारले छोपिँदै जान्छ ।

अनि तिर्न गाह्रो हुन्छ । अहिले नेपालीले जन्मिँदै ६०–७० हजारको ऋणभार बोक्नुपरेको छ । यसको सदुपयोग हुनुपर्छ । नत्र ऋण तिर्न ऋण नै लिनुपर्ने वेला आउँछ, जुन ठीक होइन । 

यस वर्ष ऋण सेवामा सवा दुई खर्ब खर्च हुने देखिन्छ : भूमिराम शर्मा, प्रमुख, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
हाम्रो सार्वजनिक ऋण परिचालनको ‘स्पेस’ कम हुँदै गएको छ । अहिले जिडिपीको ४० प्रतिशत हाराहारी ऋण पुगेको छ । सार्वजनिक ऋणलाई जिडिपीको ५० प्रतिशतभन्दा माथि नपुर्‍याउने सरकारको रणनीति छ ।

खासगरी भूकम्पपछिको पुनर्निर्माण र कोभिडको व्यवस्थापन तथा त्यसपछिको पुनरुत्थानका कारण पछिल्लो समय ऋण बढ्दै गएको छ, त्यससँगै ऋण सेवामा हुने खर्च स्वाभाविक रूपमा बढेको छ । ब्याजदर, विनिमय दरलगायतले पनि ऋण सेवाको खर्च बढाएको छ । दिगो स्रोत नभएको हाम्रो जस्तो देशले धेरै ऋण थेग्न पनि सक्दैन । गएको वर्ष ऋण सेवामा १२१ अर्ब खर्च भएको थियो । यस आवमा यस्तो खर्च २३० अर्ब पुग्ने देखिन्छ ।

See More On

सुझावित समाचार