नेपाल एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार मूलपानी क्रिकेट मैदानमा साउदी अरेबियासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह एबाट सेमिफाइनलमा पुगेको हो । मूलपानी मैदानमा खेल सञ्चालन हुन नसकेपछि अम्पायरद्वय रियाज कुरुपकार र नरेश डिसुजाले नेपाल र साउदी अरेबियालाई एक–एक अंक दिलाए ।
अम्पायरद्वयले खेल सञ्चालन गर्न दुई घन्टासम्म प्रतीक्षा गरेका थिए । तर, वर्षा नथामिएपछि र मैदानको आउटफिल्ड खराब भएको जनाउँदै नरेश र रियाजले खेल रद्दको घोषणा गरे । अम्पायरको निर्णयसँगै नेपाल एक खेलअगाडि नै अन्तिम चारमा पुग्यो । नेपालले तीन खेलमा दुई जित र एक अनिर्णीत नजितासँगै पाँच अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा छ ।
मूलपानी क्रिकेट मैदानमा खेल सञ्चालन हुन नसकेपछि नेपाल र साउदी अरेबियाले एक–एक अंक बाँडे । समूह एमा पाँच अंक बटुलेको नेपाल एक खेलअगाडि नै अन्तिम चारमा पुग्यो ।
मूलपानी मैदानमा खेल हुन नसकेपछि समूह एबाट मलेसिया र कतार प्रतियोगिताबाट लगभग बाहिरिएका छन् । नेपालले अब कतारसँग बिहीबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ । यसै समूहमा ओमानले साउदी अरेबियाको सामना गर्नेछ । यस खेलको विजेता अन्तिम चारमा पुग्नेछ । नेपालले कतारलाई हराउँदा समूह विजेता बन्नेछ । समूह विजेताले समूह बीको उपविजेताविरुद्ध फाइनल प्रवेशका लागि भिड्नेछ ।
कतार र सिंगापुर बाहिरिए
यदि कतारसँग अप्रत्याशित नतिजा हात पारे नेपालले समूह बीको विजेताविरुद्ध प्रतिस्पर्धा गर्ने छ । समूह एमा साउदी अरेबियाले तीन खेलमा एकमा जित, एक हार र एक खेलमा अंक बटुलेको छ । साउदी तीन अंकका साथ तेस्रो स्थानमा छ । ओमान चार अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा एकमा जित र २ हारसहित २ अंकका साथ एक खेलअगावै बाहिरिएको छ । मलेसियाले अन्तिम खेल कतारसँग मूलपानीमा मंगलबार खेल्नेछ । लगातार दुई खेलमा हार सामना गरेको कतार अंकविहीन छ ।
यसैगरी, समूह बीमा हङकङले तीन खेलमा पाँच अंक जोडेको छ । हङकङ पनि अन्तिम चारमा पुगेको छ । युएईले तीन खेलमा दुई जित र एकमा हार सामना गरी चार अंक बटुलेको छ । त्रिवि मैदानमा हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण रद्द भएको थियो । बहराइन तीन अंकका साथ तेस्रो स्थानमा छ । कुवेत दुई अंकका साथ चौथो स्थानमा छ । लगातार तीन खेलमा पराजित सिंगापुर प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न अवसर पाउनेछन् ।
