रास्वपाले संसदमा बुझायो ढाकालाई कारबाही गरेको पत्र

सचिवालयको रायपछि सभामुखले निर्णय लिने

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण
रास्वपाले संसदमा बुझायो ढाकालाई कारबाही गरेको पत्र

पार्टीमा ढाकाले दिए पुनरावेदन, कानुनी परामर्शमा नेतृत्व

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको दस्ताबेज संसद् सचिवालयमा बुझाएको छ । मन्त्री बन्न पार्टीको कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

श्रेष्ठलाई पार्टीबाट निष्कासन गर्ने र सांसद पदबाट हटाउने निर्णयसँग सम्बन्धित कागजात रास्वपा संसदीय दलबाट आइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । ‘स्पष्टीकरण सोधेको, जवाफ दिएको, केन्द्रीय कमिटीको निर्णयलगायत आवश्यक डकुमेन्ट आएको छ,’ उनले भने, ‘हामी छलफलमै छौँ, दुई–चार दिनमा टुंगिएला ।’ सचिवालयले अध्ययन गरेर एक–दुई दिनमा सभामुखलाई राय दिने उनले बताए । 

रास्वपाले श्रेष्ठलाई दलबाट निष्कासन गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद पदबाट हटाउन ३ वैशाखमा संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो । सभामुखले १५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था ऐनमा छ । यसअनुसार सभामुख देवराज घिमिरेले १८ वैशाखसम्म निर्णय गरिसक्नुपर्छ । 

संसद् सचिवालयका  प्रवक्ता  एकराम गिरी भन्छन् ‘स्पष्टीकरण सोधेको, जवाफ दिएको, केन्द्रीय कमिटीको निर्णयलगायत डकुमेन्ट रास्वपाबाट आएको छ । हामी छलफलमै छौँ, अध्ययन गरेर एक–दुई दिनमा सभामुखलाई राय दिन्छौँ, सभामुखले निर्णय लिनुहुन्छ । ’

रास्वपा संसदीय दलका सचेतक सन्तोष परियारले सचिवालयले माग गरेका दस्ताबेज बुझाइसकिएको र सचिवालयबाट सकारात्मक जवाफ पाएको बताए । सचिवालयका एक पदाधिकारीले रास्वपाले बुझाएका दस्ताबेज हेर्दा कारबाही हुने आधार देखिएको बताए । ‘रास्वपाले ल्याएको डकुमेन्ट हेर्दा विषय मिलेको छ । पार्टीले विधि पुर्याएर निर्णय गरेको दखिन्छ । अब सम्माननीयज्यूको विषय हो । सचिवालयले राय दिने फर्मालिटी हो । निर्णय सम्माननीयज्यूको हातमा छ,’ उनले भने । रास्वपाले समानुपातिक सांसद श्रेष्ठको कोटामा बिन्दबासिनी कंसाकारलाई सिफारिस गरेको थियो । 

रास्वपाका प्रवक्ता मुकुल ढकालले श्रेष्ठबाट पार्टीमा पुनरावेदन आएको बताए । ‘उहाँले पार्टीको कारबाहीविरूद्व पुनरावेदन दिनुभएको छ । कारबाही मिलेन भनेर सच्याउन माग गर्नुभएको छ । तर, पार्टीले गरेको कारबाहीको कुनै तथ्य परिवर्तन भएको छैन । उहाँले निर्दाेष छु भनेर कुनै तथ्य ल्याउनुभएको छैन । पुनरावेदनको विषयमा कुनै निर्णय भइसकेको छैन,’ उनले भने । 

संसद् सचिवालयले पुनरावेदनमा निर्णय मागे तत्काल पठाउने महामन्त्री ढकालले बताए । ‘हामी कानुनी परामर्शमा छौँ । संसद् सचिवालयले पुनरावेदनको विषयमा निर्णय मागे हामी तत्काल गरेर पठाउँछौँ । किनभने कारबाही गरेको तथ्यमा अहिलेसम्म कुनै परिवर्तन भएको छैन,’ उनले भने । तथ्य परिवर्तन भई निर्दाेष ठहर भएमा श्रेष्ठले पार्टीमा फर्केर काम गर्न पाउने उनको भनाइ छ । त्यसअगावै सांसद पद गुमाए त्यो स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए । 
 

सुझावित समाचार