६ देखि ९ कक्षासम्मका लागि २४० कोटा तोकिएकोमा दुई गुणाभन्दा बढी ५१७ विद्यार्थीले प्रवेश परीक्षा दिएपछि झापाको हिमालय माविमा कोटा थपेर ४१० पुर्याइयो
अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने दमकको पहिलो सामुदायिक विद्यालय हो, हिमालय । झापाकै अब्बल हिमालय माविमा पढ्न निजी छाडेर विद्यार्थी आउँछन् ।
नयाँ शैक्षिक सत्रका लागि विद्यालयले कक्षा ६ देखि ९ सम्म तय गरेको कोटा बढाएर भर्ना लिएको छ । विद्यालयले दुई सय ४० कोटा तय गरेर सोमबार प्रवेश परीक्षा लिएको थियो । तर, पाँच सय १७ विद्यार्थीले भर्नाका लागि प्रवेश परीक्षा दिएपछि कोटा थप गरेर चार सय १० जना पुर्याएको छ ।
‘धेरै विद्यार्थीले प्रवेश परीक्षा दिएपछि हामी दबाबमा पर्र्यौँ । अब तीनजना शिक्षक थपेर पुरानो भवनमा पनि कक्षा सञ्चालन गर्छाैँ,’ प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले भने ।
विगतमा कक्षा नौ मा ६ वटा सेक्सन थियो । अब दुईवटा बढाएर आठवटा पुर्याइने उनले बताए । प्रअ श्रेष्ठका अनुसार कक्षा ९ मा भर्नाका लागि बढी चाप हुने गर्छ । यसपटक कक्षा ९ मा ५० जना नयाँ विद्यार्थीको भर्ना लिने योजना थियो । तर, दुई सय ३२ जना भर्ना हुन आएका छन् । यो विद्यालयले प्रवेश परीक्षा लिएर कक्षा ६ देखि ९ मा भर्ना लिन्छ भने नर्सरीमा प्रवेश परीक्षाविना नै भर्ना लिने गरेको छ ।
‘हामीकहाँ निजी र सामुदायिक विद्यालयबाट विद्यार्थी आउने गरेका छन्, वैशाखदेखि नयाँ भर्ना सुरु हुन्छ । तर, भर्नाका लागि विद्यार्थी आइसके,’ प्रधानाध्यापक श्रेष्ठले भने ।
हिमालयमा राम्रो पढाइ हुने भएकाले इलामबाट छोरी आकृतिलाई भर्नाका लागि प्रवेश परीक्षा दिन ल्याएको अर्जुन भट्टराईले बताए । ‘इलाममा बोर्डिङ पढाएको थिएँ । अब हिमालयमा कक्षा ९ मा पढाउँछु,’ उनले भने ।
झापाको कमल गाउँपालिका–३ का टेकबहादुर खड्काले पनि सिद्धार्थ बोर्डिङमा पढिरहेका नाति प्रज्वललाई कक्षा ८ मा भर्नाका लागि प्रवेश परीक्षा दिन हिमालय मावि ल्याएका छन् । ‘यहाँको पढाइ र नतिजा राम्रो छ, त्यही भएर सामुदायिक विद्यालय ल्याएँ,’ टेकबहादुरले भने ।
हिमालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । ‘अहिले हामीले पूर्ण अंग्रेजी बनाएका छौँ,’ उनले भने, ‘कक्षा ९ मा चाहिँ एउटा नेपाली मिडियमको कक्षा पनि राख्ने योजना छ ।’
नर्सरीमा भर्नाका लागि परीक्षा दिनुपर्दैन । उनका अनुसार नर्सरीमा भर्नाका लागि एक सयजनाले फाराम भरेका छन् । दमकमा २१ वटा सामुदायिक विद्यालय छन् जसमध्ये नौवटा मावि हुन् ।
यहाँ गत शैक्षिक सत्रमा कक्षा १२ सम्म तीन हजार दुई सय ४७ जना विद्यार्थी थिए । तीमध्ये यसपटक एसइईमा तीन सयजना सहभागी भएका छन् । त्यही एसइईमा सहभागी भएकै संख्यामा नयाँ भर्ना लिने तयारी रहेको उनले बताए ।
हिमालय माविले यसरी प्रवेश परीक्षा लिएर भर्ना सुरु गरेको एक दशक भयो । यहाँ अध्ययनका लागि झापासँगै ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, भोजपुरलगायतका जिल्लाबाट विद्यार्थी आउने गरेको प्रअ श्रेष्ठले जानकारी दिए ।
अंग्रेजी शिक्षा र विद्यालयका शिक्षकले पनि आफ्ना सन्तानलाई यही विद्यालयमा पढाएका कारण अभिभावकमा विश्वास बढेको उनले बताए । अहिले अधिकांश विद्यार्थी बोर्डिङबाट आउने गरेका छन् । ‘०६२ सालसम्म यहाँ खासै विद्यार्थी हुँदैनथे । हामीले ०६२ को चैतमा स्टाफ मिटिङबाट कम्प्युटर शिक्षा पनि लागू गर्नुपर्छ भन्ने निचोड निकाल्यो । ०६४ बाट पढाइ पनि सुरु गर्यौँ । त्यति हुँदा पनि खासै विद्यार्थी आएनन्,’ उनले भने, ‘तत्कालीन प्रअ विदुरप्रसाद खतिवडा र मैले सर्भे गर्दा अंग्रेजी शिक्षा चाहिनेरहेछ भन्ने निष्कर्ष निकाल्यौँ । त्यति गर्दा पनि विद्यार्थी नआएपछि हाम्रा छोराछोरी पनि यहीँ पढाउन थाल्यौँ । यसले अभिभावकको विश्वास जित्यो । त्यसपछि प्रवेश परीक्षा नै लिनुपर्ने अवस्था आयो ।’
हिमालय माध्यमिक विद्यालय सुधारको श्रेय तत्कालीन प्रअ विदुर खतिवडालाई जान्छ । उनकै नेतृत्वमा विद्यालयले कोल्टे फेरेको हो । उनी प्रअ हुँदादेखि नै विद्यालयमा प्रवेश परीक्षा सुरु गरिएको हो । विद्यालयले हाल कक्षा ९ र १० मा प्राविधकि विषयको रूपमा कम्प्युटर इन्जिनियरिङ पढाउँदै आएको छ । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दमक नगरपालिकाका पूर्वमेयर रोमनाथ ओली आएका छन् ।
हिमालय माध्यमिक विद्यालय ०७४ सालमा नै शिक्षा मन्त्रालयको नमुनाउन्मुख विद्यालयको सूचीमा परेको थियो । भवन र जनशक्ति व्यवस्थापन हुने भए विद्यार्थी संख्या अझै बढाउन सकिने उनी बताउँछन् । हाल हिमालय माविमा ४७ जना शिक्षक तथा कर्मचारीको दरबन्दी छ । दोब्बरभन्दा बढी शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राख्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘सरकारले दरबन्दी कटौती गर्न हतार गर्छ । तर, दरबन्दी थप्दैन,’ उनले भने, ‘हाम्रोमा त अझै ५० जना शिक्षक तथा कर्मचारीको दरबन्दी थप्नुपर्छ ।’
विद्यालयमा अहिले सातवटा तीनतले भवनमा रहेको ५२ वटा कक्षा कोठामध्ये ४६ वटामा पढाइ भइरहेको छ । भवन अपुग भएपछि पुरानो जीर्ण रहेको कक्षा कोठामा पनि पढाउनुपर्ने बाध्यता रहेको प्रअ श्रेष्ठले बताए । अघिल्लो पटक भवन बनाउन पाँच करोड रुपैयाँ बजेट आएको थियो । त्यसले तीनतले १२ कोठे भवन बनायौँ । यो पनि पूर्ण भएको छैन,’ उनले भने, ‘अर्को भवनको जग खनिएको छ । तर, बजेट रोकिएर काम नै भएन । त्यो भवन बने विद्यार्थी संख्या पनि बढाउन सकिन्थ्यो ।’
निःशुल्क छैन सामुदायिक विद्यालयको शिक्षा
दमक नगरपालिकाले बनाएको शिक्षा ऐनमा माध्यमिक शिक्षा निःशुल्क हुने उल्लेख छ । तर, ऐनविपरीत सामुदायिक विद्यालयले आफूखुसी शुल्क असुल्दा पनि नगरपालिका मौन छ । २१ वटा सामुदायिक विद्यालयले कति शुल्क उठाउने भन्ने कुनै मापदण्ड छैन । विद्यालयले आफूखुसी शुल्क लिइरहेका छन् । दमकका सबैजसो सामुदायिक विद्यालयले भर्ना शुल्क लिँदै आएका छन् । यद्यपि, उनीहरूले त्यसलाई अभिभावक सहयोगको नाम दिँदै आएका छन् ।
दमकको नाम चलेको हिमालय माविले अभिभावक सहयोगको नाममा नर्सरीलाई वार्षिक तीन हजार शुल्क लिन्छ । यस्तै, कक्षा नौमा भर्ना भएका नयाँ विद्यार्थीलाई सात हजार नौ सयसम्म लिने गरेको छ । प्राविधिक विषय पढ्ने कक्षा– १० कम विद्यार्थीले १३ हजार ६५० रुपैयाँसम्म वार्षिक बुझाउनुपर्छ । अन्य कक्षामा भने शुल्क कक्षाअनुसार फरक छ ।
अन्य विद्यालयले पनि कक्षा–१० को पाँच हजारभन्दा बढी भर्ना शुल्क लिने गरेका छन् । ‘विद्यालयमा शिक्षकको दरबन्दी कम हुन्छ । अंग्रेजी माध्यम पनि पढाउनुपर्छ । त्यसकारण निजी स्रोतमा शिक्षक राख्नुपर्ने बाध्यता छ,’ हिमालय माविका प्रधानाध्यापक श्रेष्ठले भने, ‘अभिभावकको स्वीकृतिमा अभिभावक सहयोगबापत सहयोग शुल्क लिँदै आएका छौँ । नगरपालिकाले सबै व्यवस्थापन गरिदिने भए त्यो पनि लिँदैनौँ ।’
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले विद्यालयलाई सबै व्यवस्थापन गरेर यस वर्ष कम्तीमा कक्षा पाँचसम्म निःशुल्क गर्ने तयारी रहेको बताउँछिन् । ‘एकैपटक सबै सकिँदैन । चाँडै निर्णय गरेर कक्षा पाँचसम्म निःशुल्क गर्छौँ । हामीले निःशुल्कको निर्णय गरेर मात्र हुँदैन । विद्यालयले सक्दैन । नगरपालिकाले नै यसको व्यवस्थापन गर्नुपर्छ,’ उनले भनिन्, ‘यसवर्ष कक्षा पाँचसम्म निःशुल्क गर्ने, अर्कोपटक कक्षा आठसम्म र पछि कक्षा–१२ सम्मै निःशुल्क गर्ने योजना छ ।’