दुई वर्षदेखि थन्कियो करोडको अक्सिजन प्लान्ट

धनगढीमा खुला चौरमा राखिएका ५० थान अक्सिजन सिलिन्डरमा खिया लाग्न थाल्यो

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
दुई वर्षदेखि थन्कियो करोडको अक्सिजन प्लान्ट

धनगढीमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जडान गरिएको अक्सिजन प्लान्ट । दैनिक ६ हजार लिटरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता रहेको सो प्लान्ट चौधरी ग्रुपको ६० लाख र धनगढी उपमहानगरको करिब ४० लाख लागतमा स्थापना गरिएको हो ।

कैलालीको धनगढीमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जडान गरिएको अक्सिजन प्लान्ट दुई वर्षदेखि थन्किएको छ । खुला चौरमा राखिएका ५० थान अक्सिजन सिलिन्डरमा खिया लाग्न थालेको छ ।

कोभिड– १९ महामारीमा एक करोड लागतमा धनगढी उपमहानगरपालिका– ७ बेलीमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । दैनिक ६ हजार लिटरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता रहे पनि उत्पादन नै सुरु नभएको धनगढी उपमहानगरका इन्जिनियर दिजराज भट्टले बताए । चौधरी ग्रुपको ६० लाख र धनगढी उपमहानगरको करिब ४० लाख लागतमा प्लान्ट स्थापना गरिएको थियो ।

अक्सिजन प्लान्ट मेसिन चौधरी गु्रपले दिएको थियो भने मेसिन राख्न संरचना निर्माण तथा जडान लागत उपमहानरपालिकाले व्यहोरेको भट्टले बताए । कोरोना महामारीका वेला धनगढीस्थित सेती प्रादेशिक अस्पताललगायत यहाँका निजि अस्पतालमा अक्सिजनको चरम अभाव भएको थियो ।

संक्रमितले अक्सिजन नपाउने अवस्था आएपछि दाताले अक्सिजन प्लान्ट दिएको थियो । तर त्यतिबेला कोरोनाको रेफरल अस्पतालका रुपमा तोकिएको सेतीमा नभइ धनगढी बजारबाट करिब आठ किलोमिटरको दुरिमा रहेको बेलि सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा लगेर प्लान्ट राखियो, जहाँ अक्सिजनको आवश्यकता थिएन ।

कोरोना महामारीका बेला संक्रमित बिरामीको चाप बढेकोले त्यतिबेला सेतीले आफूले उत्पादन गर्ने अक्सिजनले धानेको थिएन । अहिले सेतीले आफैले उत्पदन गरेको अक्सिजनले माग धान्छ । निजी अस्पतालहरूले भने निजि प्लान्टबाट अक्सिजन किन्दै आएका छन् ।‘महामारीका बेला सबै बिरामी उपचारका लागि जाने सेतीमै हो ।

अक्सिजन प्लान्ट त्यतिबेलै सेतिमा राखेको भए प्रयोगविहीन हुने अवस्था आउथेन,’ धनगढी उपमहानगरका एक कर्मचारीले भने, ,त्यसबेलाका जनप्रतिनिधि र प्रदेश सरकारको बेमेलले प्लान्ट बजारभन्दा टाढा आवश्यकता नभएको र अपायक ठाउमा लगेर राखियो ।’

सेती प्रादेशिक अस्पताल प्रादेश सरकार मातहत हो । अस्पताल प्रशासनले पनि अक्सिजन प्लान्ट सेतिमै राख्न आग्रह गरेको थियो तर तत्कालीन मेयर नृपबहादुर वडले सेतीमा राख्न चाहेनन् । अहिले अक्सिजनको अभाव नभएपछि अक्सिजन प्लान्ट संचालन प्राथमिकतामा परेको छैन । 

प्लान्ट सञ्चालनको जिम्मा निजीलाई दिने तयारी, तर प्रस्ताव नै आएन 
धनगढी उपमहानगरले अक्सिजन प्लान्ट सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । तर, निजी क्षेत्रले इच्छा देखाएको छैन । दुई महिनाअघि प्रस्ताव आह्वान गरे पनि दरभाउपत्र पेस नभएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले बताए । ‘अब आफैँ सञ्चालन गर्ने वा पुनः टेन्डर गर्ने निर्णय भएको छैन,’ उनले भने ।

सुझावित समाचार