नेपालको विजयी सुरुवात, अनन्त र नवयुगको सानदार गोलमा लाओस २–० ले पराजित

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण

आजबाट सुरु प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा नेपालले लाओसविरुद्ध २–० को जित हासिल गरेको छ। 

दुवै हाफमा दुई गोल भएका हुन्। पहिलो हाफको ३०औँ मिनेटमा अनन्त तामाङले सुन्दर हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। 

नवीन लामाले प्रहार गरेको कर्नर किकलाई हेडरमार्फत अनन्तले बललाई जाली चुमाएका थिए। 

दोस्रो हाफमा नवयुग श्रेष्ठले सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। ५६औँ मिनेटमा करिब ३५ यार्ड टाढाबाट नवयुगले हाफ भलीमा आकर्षक गोल गरेका थिए। 

पछिल्लो समय चोटका कारण केही खेल गुमाएका नवयुगले प्लेइङ ११ मा फर्कंदै खेलमा आफ्नो महत्व दर्शाए। उनको यो आठौँ गोल थियो। 

आजबाट सुरु भएको त्रिदेशीय प्रधानमन्त्री कपमा नेपाल, लाओस र भुटान सहभागी छन्। प्रतियोगिताको दोस्रो खेल लाओस र भुटानबीच हुनेछ।

सुझावित समाचार