नवनिर्वाचित राष्ट्रपतिको शपथअगावै उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रारम्भ हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार राष्ट्रपतिको शपथ तय हुँदा शनिबार उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । आइतबार अन्तिम नामावली प्रकाशन गर्ने र ३ चैतमा १० देखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको कार्यकाल ५ चैतमा सकिँदै छ ।
जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । सत्तारूढ आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति छ ।
‘नयाँ गठबन्धनमा भएको सहमतिअनुसार हाम्रो उम्मेदवारलाई सबैलाई स्वीकार गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । यो समावेशिताका हिसाबले पनि आवश्यक र उपयुक्त छ,’ जसपाका सांसद राजकिशोर यादवले भने । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदै छ ।
तत्कालीन एमालेसहितको सत्ता गठबन्धनमा भने सुरुदेखि नै माओवादी केन्द्रले उपराष्ट्रपतिमा दाबी गरेको थियो । उपराष्ट्रपतिमा सहमति हुन नसकेकै कारण सरकार गठन भएको दुई महिनासम्म पनि सरकारलाई समर्थन गर्दागर्दै जसपा सरकारमा सहभागी भएको थियो । तर, नयाँ समीकरणअनुसार जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि उम्मेदवारको टुंगो लगाएको अध्यक्ष उपेन्द्र यादवले बताए । ‘नयाँ गठबन्धन बनिसकेको छैन, तर नयाँ समीकरण बन्दै छ । नयाँ समीकरणअनुसार कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति पाउने सहमति भएको हो,’ उनले भने ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएयता उपेन्द्र यादव रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत संसद् छिर्ने प्रयासमा छन् । अध्यक्ष यादव स्वयं यो विषय स्वीकार गर्दैनन्, तर जसपाभित्र यो ‘ओपन सेक्रेट’जस्तै छ । ‘यस विषयमा अहिले सोचिसकेको छैन, तर सम्भावना त हुने नै भयो,’ उनले भने ।
जसपाका एक नेताका अनुसार उपेन्द्रले रामसहायलाई संसदीय दलको नेता बनाउनुको कारण पनि यही हो । निर्वाचनमा पराजित भएयता उनको मिसन उपराष्ट्रपति थियो । तर, सत्ता साझेदार दलभित्र राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने ‘गोप्य’ सहमतिका कारण उनी चिढिएका थिए । ‘अध्यक्षज्यूको बार्गेनिङ प्वाइन्ट नै उपराष्ट्रपति पद थियो,’ ती नेताले भने, ‘रामसहायजीलाई उपराष्ट्रपति बनाउने र उहाँको निर्वाचन क्षेत्र बारा २ बाट चुनाव जितेर पुनः संसद्मा आउने उहाँको चाहना हो । रामसहायजीलाई संसदीय दलको नेता बनाउनुको कारण पनि त्यही हो । त्यसो हुँदा पछि आफू दलको नेता बन्न पनि सजिलो हुने भयो ।’
बारा २ निर्वाचनताका उपेन्द्र स्वयं उम्मेदवार सिफारिस भएको क्षेत्र पनि हो । तर, उनी सप्तरी २ बाट उम्मेदवार बने । उपेन्द्रले बारा २ लाई जितका लागि सहज क्षेत्रसमेत ठानेका छन् । कारण यो क्षेत्रको समानुपातिक मतगणनामा पनि जसपा सबैभन्दा अगाडि छ । जसपा १३ हजार मतसहित पहिलो छ भने एमाले नौ हजारभन्दा बढी मतसहित दोस्रोमा छ । नयाँ समीकरणमा रहेका दलहरूको सहयोग मिलेमा आफूले सहजै जित निकाल्न सक्ने उनको आकलन छ ।
जसपाले आठदलीय गठबन्धनमा उपराष्ट्रपति पाउने सहमति भएको दाबी गरे पनि गठबन्धनमा रहेका अन्य मधेसकेन्द्रित दलहरूले त्यसमा असन्तुष्टि जनाएका छन् । खासगरी जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको आपत्ति रहेको गठबन्धनमा सहभागी दलका एक नेताले बताए ।