वयस्क भाले गैँडा मृत फेला

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण
वयस्क भाले गैँडा मृत फेला

फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ। 

निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्रअन्तर्गत सेहरी पोस्टनजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ। 
  
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैँडा फेला परेको जानकारी दिए। 

दुई गैँडा एक–आपसमा जुधेर मरेको हुन सक्ने अनुसन्धानबाट खुलेको तिवारीले उल्लेख गरे। मृतक भाले गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ। 

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैँडासँगै चालू आर्थिक वर्ष ०७९/८० मा १३ वटा गैँडा मरेका छन्। मरेका गैँडामध्ये दुईवटा चोरी–सिकारीका कारण मरेका निकुञ्जले जनाएको छ। गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा छन्। 
 

सुझावित समाचार