राष्ट्रपति निर्वाचनका लागि करिब नौ सय सुरक्षाकर्मी परिचालन

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

फरार सूचीमा रहेका मतदाता निगरानीमा

राष्ट्रपति निर्वाचनका लागि स्थानीय प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट करिब नौ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका अलावा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । काठमाडौं प्रमुख एसएसपी दानबहादुर कार्कीले मतदानदेखि मतगणनासम्म सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको बताए । 

‘मतदानअगाडि सबै मतदाताको सहजीकरण गर्ने, उहाँहरूको बसोवासको क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिने गरी प्रबन्ध गरेका छौँ,’ उनले भने ।

एसएसपी कार्कीले प्रहरीको फरार सूचीमा रहेका मतदातालाई निगरानी गरिने बताए । कर्तव्य ज्यान मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सन्दर्भमा प्रहरीले निगरानी गर्ने भएको हो । ‘त्यहाँ फरार सूचीमा रहेका मतदातालाई निगरानी गरिनेछ । त्यस्ता व्यक्तिलाई जो जहाँ भेटिन्छ त्यहीँबाट पक्राउ गरेर कानुनी दायरामा ल्याइनेछ,’ एसएसपी कार्कीले भने । 

मतदानपछि मतपेटिका सुरक्षा, मतपेटिका ओसारपसारको वेलाको सुरक्षा, मतगणना हुने स्थलको सुरक्षा मिलाइएको उनले बताए । ‘मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुईवटा प्रतिनिधि बस्न दिइनेछैन । मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको छ । आवश्यक जनशक्ति खटाइएको छ । काठमाडौं जिल्लाबाट सिनियर पुलिस अधिकृतको कमान्डमा लाइन व्यवस्थापनदेखि लिएर चारैतिरको प्रवेशद्वारहरूको सुरक्षासमेत मिलाइएको छ,’ उनले भने । 

कार्कीका अनुसार मतदानमा बाधा–अवरोध हुन नदिन बानेश्वरको बिआइसिसी प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । मतदातालाई भित्र प्रवेश गराउने, लाइन व्यवस्थापन र बाहिर ल्याउने कुरामा प्रहरीले सहजीकरण गर्ने उनले बताए । ‘निर्वाचनबाट जितेर प्रमाणपत्र प्राप्त गर्नुहुने उम्मेदवारलाई तत्क्षणदेखि नै पदअनुसारको सुरक्षा व्यवस्था मिलाइनेछ,’ उनले भने ।

सुझावित समाचार