प्रदेश १ नामकरण : सरप्राइज संसदमा टेबुल गर्ने र बहुमतले पारित गर्ने तयारी

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

राजनीतिक द्वन्द्वले गर्दा अघिल्लो कार्यकालमा गर्न नसकेको प्रदेश १ को नामकरण आज टुंगो लगाउन दलहरू सहमत भएका छन् । पहिलो कार्यकालमा आफ्नै स्वार्थको द्वन्द्वले गर्दा थाँती रहेको प्रदेशको नामकरण गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र  आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत भएका हुन् । 

प्रदेशको नामकरण सहमतिमा टुंगो लगाउन मंगलबार दिनभर सरकार, संसदीय दल र पार्टीका केन्द्रीय नेताहरूको सर्वदलीय छलफल भएको थियो । मंगलबार अबेरसम्म बसेको सर्वदलीय बैठले बुधबार दिउँसो नामकरण प्रस्ताव दर्ता गराउने र छलफल गरेर सहमतिमा टुंगो लगाउने सहमति गरेको थियो । छलफलमा सत्ताधारी दल एमालेका एकजना सांसदका अनुसार सर्वसम्मतले नाम टुंगो लगाउन दलहरूबीच  आज पनि छलफल भइरहेको छ । 

नामकरणबारे पहिचान पक्षधर  र भूगोल पक्षधरहरूको चर्को दबाब नपरोस् र आन्दोलन पनि नहोस् भनेर सरकार र दलहरूले आन्तरिक छलफललाई गोप्य राखेका छन् । सहभागी एक नेताका अनुसार सरप्राइज रूपमा नाम संसदमा दर्ता गराएर सहमतिमा टुंगो लगाउने दलहरूको योजना छ । 

प्रदेश सभा सचिवालयका अनुसार आज बुधबार दिउँसो प्रदेश १ सभाको हिउँदे अधिवेशनको बैठक बस्दै छ । उक्त बैठकमा सरकारले प्रदेशको नाम प्रस्ताव  टेबुल गर्नेछ । त्यसपछि नामकरणबारे बोल्न चाहने दलका नेता र सांसदलाई समय दिइनेछ । त्यसपछि संशाेधनका लागि दुई घन्टा संसद्को बैठक स्थगित गरेर पुनः बैठक गरेर टेबल भएको नाम टुंगो लगाइनेछ ।  

सुझावित समाचार