भन्सारमा रहेका सवारीसाधन छुटाउन छलफल

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

भन्सार नाकामा लामो समयदेखि रहेका सवारीसाधन छुटाउन अटो व्यवसायीहरूले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग आग्रह गरेका छन् । नेपाल अटो व्यवसायी संघ नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले छलफलका क्रममा बुढासँग यस्तो आग्रह गरेका हुन् ।

 छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनुअघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन–हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारीसाधनको व्यवसायमा कुनै सुधार नभएको भन्दै पैठारीकर्ताले भन्सार नाकाबाट सवारीसाधन उठाउन नसकेको स्पष्ट पारे । 

सोही क्रममा नाडाका उपाध्यक्ष नीराकार श्रेष्ठले कार, जिप र भ्यानजस्ता सवारीसाधनको बजार वार्षिक १७–१८ हजार रहेकोमा अहिले घटेर सात–आठ हजारमा सीमित भएको बताए । कुल सवारीसाधनको बिक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत उनले जानकारी दिए । 

त्यसैगरी, छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टस्हरूको मूल्यांकनमा पैठारीकर्ताले पेस गरेको बिल मूल्यलाई मान्यता दिन आग्रह गर्दै सन्दर्भ मूल्यसूचीले व्यवसायीहरूलाई समस्या परेको बताए । उनले सो सन्दर्भ मूल्यसूचीलाई खारेज गर्नुपर्ने धारणा राखे । 

छलफलको अन्त्यमा महानिर्देशक बुढाले भन्सार नाकाहरूमा रहेका सवारी तथा ढुवानीका साधनहरूको सम्बन्धमा मन्त्रालयमा समेत पटक–पटक छलफल भइसकेको जानकारी दिँदै कुन भन्सार नाकाहरूमा के–कस्ता ब्रान्डका के–कति संख्यामा सवारीका साधनहरू (दुईपांगे्र तथा तीनपांग्रेबाहेक) भन्सारपरिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण यथाशीघ्र विभागबाट मगाउने बताए । 

See More On

सुझावित समाचार