राजमार्गमा पुल नहुँदा बढेको खोला तर्न नसकेपछि मालिका– ७ का कृष्णबहादुर थापाले ०७८ को असारमा ज्यान गुमाए । कोभिड संक्रमित थापालाई श्वासप्रश्वासमा समस्या भएपछि तत्कालै अस्पताल लैजानुपर्ने भयो । पहिरोमा कारण ग्रामीण सडक बन्द थिए । परिवारले एम्बुलेन्स बोलाएर घरबाट त हिँडायो, तर भेल उर्लिएको घमिर खोला तर्ने उपाय भएन । घरबाट हिँडेको २४ घन्टापछि सदरमुकाम तम्घास पुर्याइए । त्यहाँबाट पाल्पा हुँदै बुटवल रिफर गरिएका उनले अस्पताल नपुगी प्राण त्यागे ।
मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने तम्घास–सिमलटारी खण्डको मुख्य चार स्थानमा पुल निर्माण नहुँदा थापाले ज्यान गुमाउनुपरेको थियो । यो खण्डमा थुप्रै सवारीसाधन र व्यक्तिलाई खोलाले बगाइसकेको छ । तर, पुल नभएको स्थिति अहिले पनि उस्तै छ । आगामी वर्षामा पनि नागरिकले सास्ती पाउने पक्का छ । किनभने, निर्माण व्यवसायी खोलामा खाल्डा मात्र खनेर बसेका छन् । सरोकारवाला कार्यालयका हाकिमदेखि जनप्रतिनिधिसम्मलाई नटेर्ने अटेरी ठेकेदारको हैकम अहिले पनि त्यस्तै छ ।
यो खण्डको निर्माण जिम्मा सुनील–समीर निर्माण सेवाले लिएको छ । सम्झौताको आठ महिनामा हुलाके खोलामा फाउन्डेसनको काम गरेर बसेको छ । धनार्जी खोलामा भर्खर खाल्डा खन्न थालिएको छ । पन्थ बाँसुरीले फूलबारी खोलामा फाउन्डेसन ढलान गर्यो । घमिर खोलामा खाल्डा मात्रै खनेर बसेका छ । यही मौसममा पनि ठूलो पानी परे ती खाडल पुरिने र बनेका संरचना पनि बगाउने स्थिति रहेको मालिका गाउँपालिका– ८ का पीताम्बर पौडेलले गुनासो गरे ।
१८ देखि २० महिनाका चार ठेक्का
मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकमा चारवटा पुल निर्माण हुँदै छन् । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका अनुसार इस्मा र मालिका गाउँपालिकाका हुलाके, धनार्जी, फूलबारी र घमिर खोलामा पुल निर्माणका लागि टेन्डर आह्वान भएर निर्माण व्यवसायीले सम्झौता गरेका छन् । तर, सम्झौता सकिने वेलासम्म १० प्रतिशत काम पनि भएका छैनन् ।
पन्थ निर्माण सेवाले २ माघ ०७८ मा फूलबारी र घमिर खोला पुल निर्माणको सम्झौता गरेको छ । फूलबारी खोला पुल चार करोड ५६ लाख ५४ हजार सात सय १२ र घमिर खोला पुल चार करोड २९ लाख ९६ हजार एक सय ४२ रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेका छन् । सम्झौता भएको मितिले १८ महिनामा काम सक्नुपर्छ । तर, १२ महिना बितिसक्दा फाउन्डेसनसमेत बनिसकेको छैन ।
सुनील–समीर निर्माण सेवाले २७ जेठ ०७९ मा हुलाके र धनार्जी खोलामा पुल निर्माणको ठेक्का पाएको हो । हुलाके खोला पुल ६ करोड १४ लाख चार हजार पाँच सय २५ र धनार्जी खोला पुल सात करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँमा टेन्डर भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । सम्झौताअनुसार हुलाके पुल २० महिनामा सम्पन्न गर्ने उल्लेख छ । धनार्जी पुल १८ महिनामा सक्नुपर्छ । तर, हुलाकेमा फाउन्डेसन ढलानको काम सुरु भए पनि धनार्जीमा भर्खरै खाल्डा खन्न सुरु भएको छ ।
कार्यालय र व्यवसायीको जुहारी
पुलहरूको योजना कार्यान्वयन गर्ने निकाय मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीले निर्माण व्यवसायीहरूको काम सन्तोषजक नभएकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ । आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्रप्रकाश तेरीले तीन ठेक्कामा निर्माण व्यवसायीले फाउन्डेसन मात्रै खनेर बसेको र एउटा ठेक्काको काम नै नभएकाले कारबाही गर्न थालिएको बताए । सुरुमा पेस्की रकम तान्ने, कार्यसम्पादन जमानत ग्यारेन्टी जफत गरी ठेक्का तोड्ने र कालोसूचीमा राखेर क्षतिपूर्ति गराउनेसम्मका कारबाही हुने उनले बताए । ‘१८ देखि २० महिनाका ठेक्का छन् । तर, कुनै ठेक्का सम्झौताअनुसार अघि बढेका छैनन्,’ उनले भने, ‘कारबाहीबाहेक विकल्प छैन ।’
पन्थ निर्माण सेवाका प्रमुख खिमलाल पन्थले कार्यालयले काममा समन्वय नगर्दा ढिलाइ भएको दाबी गरे । गत वर्ष नै २३ टन छड निर्माणस्थलमा पुर्याए पनि कार्यालयले गिटी प्रयोगमा रोक लगाएपछि पुसमा गर्ने ढलान अहिलेसम्म रोकिएको उनको भनाइ छ । ‘इस्टिमेटमा स्थानीय गिटी छ । कार्यालयले फेल गराएर बाग्लुङको गिट्टी बोकिरहेका छौँ,’ उनले भने, ‘निर्वाचन र वर्षाले पनि काम गर्न दिएन ।’ जसले जसलाई दोष दिए पनि पुल नबन्दा स्थानीय पीडित हुँदै आएका छन् ।