झापाका कुखुरापालक किसानले सडकमा अन्डा फुटाएका छन्। उनीहरूले आन्दोलनस्वरूप सडकमै झन्डै तीन सय कुखुरा पनि छाडेका हुन्।
कुखुरापालनमा बिचौलिया हाबी भएको र राज्य मूकदर्शक बनेको भन्दै किसान आन्दोलित भएका हुन्। झापाका किसानले मंगलबार बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएर राज्यको विरोधस्वरूप झन्डै पाँच हजार अन्डा पूर्व–पश्चिम राजमार्गमै फुटाएको र तीन सय कुखुरा सडकमै छाडेका हुन्।
दानाको मूल्य बढ्दै जाँदा पनि अन्डाको मूल्य बढ्न नसकेकाले विरोधस्वरूप सडकमा अन्डा र कुखुरा फालिएको दमकस्थित मेघा एग्रो प्रालिका सञ्चालक भरत चाैलागाईंले बताए।
‘अन्डाको मूल्य बढ्दैन। दानाको मूल्य प्रत्येक दिन बढिरहेको छ। हामीलाई उत्पादन खर्च पनि धान्न मुस्किल भइसक्यो । किसान अप्ठ्यारोमा परे। सरकारले हेरेन,’ उनले भने, ‘बैंकले ऋण तिर्न ताकेता गरिरहेको छ। बिहानदेखि रातिसम्म फोन सम्पर्क गर्छ । घरमा कर्मचारी नै पठाउँछ । राज्य मूकदर्शक भएर बसेको छ।’
उनले सांकेतिक रूपमा मंगलबार आन्दोलन गरिएको बताए। ३० हजार लेयर्स कुखुरा पाल्ने क्षमता भएको उनको फर्ममा अहिले १५ हजार लेयर्स कुखुरा छन्।
बजारमा प्रतिगोटा १५ रुपैयाँ पर्ने अन्डा किसानले भने आठ रुपैयाँ मात्र पाउने गरेको दमक एग्रिकल्चर फर्मका सञ्चालक देवेन्द्र प्रसाईंले बताए।
‘किसानले आफ्नो व्यवसाय चलाउन नसक्ने भएकाले आन्दोलन गरेका हौँ। कुखुरा पाल्न चाहिने सबै सामानको मूल्य अकासियो। बिचौलियाले चलखेल गरेर अन्डाको मूल्य धेरै कममा उठाए। जुन मूल्यले उत्पादन खर्च पनि धान्दैन,’ उनले भने, ‘यहाँ त कृषक र उपभोक्ता दुवै मारमा छन्। बिचौलिया मात्र मालामाल छन्। किसानसँग आठ रुपैयाँमा लिएको अन्डा १५ रुपैयाँसम्म बेच्छन्। किसानलाई बैंकको ऋण तिर्न पनि मुस्किल छ।’
किसानले मूल्य नपाएका कारण राज्यले आफैँ अन्डा खरिद गरिदिनुपर्ने उनीहरूको माग छ।
‘हामीले अन्डाको उचित मूल्य पाएनौँ। बजार व्यवस्थापन छैन। मनोपोली छ। त्यसकारण राज्यको विरुद्धमा आन्दोलन गरेका हौँ। बैंकको ऋणले व्यवसायी आत्मदाह गर्नुपर्ने अवस्था आउन लाग्यो। ब्याज बढेको बढ्यै छ,’ अन्डा उत्पादनक कृषक महेन्द्र घिसिङले भने, ‘सरकारले आफैँ खरिद गरेर बिक्री गरोस्। त्यसको गर्दा किसान बाँच्न सक्ने अवस्था आउँछ। बैंकको ब्याजदर घटाइदिनुपर्छ। खुला नाकाका कारण पनि भाररतबाट अन्डा आउँदा समस्या भएको छ। यसमा सरकारले ध्यान दिओस्।’
अझ पनि सरकारले नसुने प्रदेश १ स्तरीय रूपमा भेला भएर आन्दोलन गर्ने उनले बताए।