कामना सेवाको २३ करोड ऋण जोखिममा

मिलेमतो गरी कमसल धितोमा ऋण प्रवाह गर्ने कर्मचारी र ऋणीलाई मुद्दा

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

कामना सेवा विकास बैंकको दमक शाखाबाट पछिल्लो चार वर्षमा प्रवाह भएको २३ करोड रुपैयाँबराबरको ऋण जोखिममा परेको छ । बैंकका कर्मचारी र ऋणीले मिलेमतोमा कमसल धितोमा प्रवाह गरेको ऋण नउठ्ने खतरा बढेको हो । 

बैंकको दमक शाखाबाट ०७६ सालयता प्रवाह भएको ऋणमा शंका लागेपछि बैंकले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा तथ्यहरू अझै धेरै बाहिरिरहेका छन् । यद्यपि, ऋण लिएको २३ करोडमाथिको रकम कहाँ छ भन्नेबारे भने प्रहरी अझै अनभिज्ञ छ । 

इलाका प्रहरी कार्यालय दमकले दुई महिनाअघि यही बैंकको दमक शाखाले विभिन्न चार कम्पनी र एक व्यक्तिलाई प्रवाह गरेको झन्डै १४ करोड ४० लाख कर्जामा मिलेमतो भएको विषयको अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान प्रक्रिया टुंगो लगाएर जिल्ला न्यायाधिवक्ता कार्यालयमार्फत बैंकिङ कसुर र सरकारी दस्तखत किर्ते मुद्दा जिल्ला अदालत झापामा दर्ता गरेको थियो । यसअघिको अनियमिततामा संलग्न १९ मध्ये चारजनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेर अनुसन्धान गरेको थियो । पक्राउ परेका चारमध्ये तीनजनालाई जिल्ला अदालत झापाले धरौटीमा रिहा गरेको छ भने बैंकका तत्कालीन प्रदेश प्रमुख सुजन छाराहाङलाई सरकारी दस्तखत किर्तेमा पुर्पक्षका लागि थुनामा पठाएको छ । यो घटनामा अझै १५ जना फरार छन् । 

प्रहरीका अनुसार यो प्रकरणमा बैंकको केन्द्रीय डिजिएम हरि लम्साल, ऋण विभाग प्रमुख सुरेश उप्रेती, प्रदेश १ प्रमुख सुजन छाराहाङ, दमकका तत्कालीन शाखा म्यानेजर सञ्जीव निरौला, दमकका लोन म्यानेजर समीर कार्की, बैंकका स्क्रिनिङ म्यानेजर अस्मिता गुरुङ, क्रेडिट विभाग प्रमुख पर्मा ढुंगेल, स्क्रिनिङ अफिसर अर्चना मुल्मी, म्यानेजमेन्ट क्रेडिट कमिटीका विमश अमात्य र प्रदीप पुडासैनीको संलग्नता देखिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक गिरीले नयाँ पत्रिकालाई जानकारी दिए । 

यस्तै, ऋणीहरू सुवास दाहाल, सबिन एन्ड ब्रोदर्स रियल स्टेटका सबिन बराल, क्रियन्स इन्जिनियरिङका किस्मत नेपाल, आस्थालक्ष्मी सबप्रालिका निशाना पाण्डे, राकेश थापा, थापा ब्रोदर्स एन्ड कम्पनी प्रालिका ध्रुव शाक्य, रिवाज शाक्य, धितो मूल्यांकनकर्ता (भ्यालुएटर) मनोज अधिकारी, सुदर्शन चौधरी र कमल नेपालविरुद्ध बैंकको जाहेरी परेको थियो । प्रहरीले बैंकका तत्कालीन प्रदेश प्रमुख छाराहाङ, थापा ब्रोदर्स एन्ड कम्पनी प्रालिका ध्रुव शाक्य, रिवाज शाक्य र मूल्यांकनकर्ता मनोज अधिकारीलाई पक्राउ गरेको थियो । बाँकी सबै फरार छन् । जाहेरी परेकामध्ये मूल्यांकनकर्ता नेपालले घटना सतहमा आएपछि आत्महत्या गरिसकेका छन् । 

यो मुद्दा नटुंगिँदै कामना सेवा विकास बैंकको अर्को मुद्दामा इलाका प्रहरी कार्यालय दमक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कामना सेवा विकास बैंकले ऋण प्रवाह गर्ने क्रममा तीन कम्पनीलाई करिब आठ करोड ७५ लाख ऋण प्रवाह गर्दा अनियमितता गरेको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतसहितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यो अनियमिततामा यसअघिको मुद्दामा फरार रहेका सबै कर्मचारीविरुद्ध जाहेरी परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । ‘शंका लागेपछि कामना सेवा विकास बैंककले आन्तरिक छानबिन गर्यो । त्यसपछि उसले प्रतिवेदन राष्ट्र बैंकलाई दियो । राष्ट्र बैंकले सिआइबीलाई अनुसन्धान गर्न पत्र लेख्यो,’ उनले  भने, ‘पहिलाको मुद्दा पनि हामीले नै अनुसन्धान गरेका कारण सिआइबीले हामीलाई पठायो । इलाका प्रहरी कार्यालय दमक र सिआइबीको टोलीले अनुसन्धान गरिरहेको छ ।’ 

अनुसन्धानका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत, तत्कालीन दमक शाखा प्रबन्धक वीरेन्द्रसिंह भण्डारी, ऋणी दमक–७ का चन्द्रबहादुर बस्नेत र दमक–९ का हरेन्द्र दाहाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी गिरीले जानकारी दिए । अहिले अनुसन्धान भइरहेको प्रकरणमा बैंकका कर्मचारी र ऋणी गरी १९ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । त्यसमा पक्राउ परेका चारबाहेक १५ जना फरार छन् । 

प्रहरीका अनुसार यो प्रकरणमा पनि बैंकको आठ करोड ७५ लाख जोखिममा परेको छ । बैंकका कर्मचारीको मिलेमतोमा वास्तविकताभन्दा धेरैमा धितो मूल्यांकन गरेर ऋण जोखिममा पारेको र प्राप्त कर्जाको दुरुपयोग भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीका अनुसार बैंकको दमक शाखाले उर्लाबारीको सञ्जु मार्केट प्रालिलाई चार करोड ३५ लाख, दमकको बरपति सप्लायर्सलाई दुई करोड ४० लाख र मधुसुधन निर्माण सेवा दमकलाई दुई करोड ऋण प्रवाह गरेको थियो । त्यस क्रममा बैंकका शाखा प्रबन्धकदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको मिलेमतो देखिएको डिएसपी गिरीले बताए । ‘कमसल धितोमा धेरै ऋण लगानी भएको अनुसन्धानमा देखिएको छ । बैंकका कर्मचारीले मिलेमतोमा कर्जा जोखिममा पारेको देखिन्छ,’ उनले भने, ‘यस्तै, एउटा कामका लागि लिएको कर्जा अर्कै काममा लगाएर दुरुपयोग गरेको देखिन्छ ।’ 

बैंकका सिइओ बस्नेतले सञ्जु मार्केटको चार करोड ३५ लाख रुपैयाँ ऋण स्वीकृत गरेको र मधुसुधन निर्माण कम्पनीको दुई करोडको ऋण नवीकरण गरेका कारण उनको पनि संलग्नता देखिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । यो प्रकरणमा ऋणी सञ्जु मार्केटका सञ्चालक विक्टर थापा फरार छन् । अन्य भने यसअघिको प्रकरणमा संलग्न कर्मचारी नै रहेको प्रहरीले जनाएको छ । बरपति सप्लायर्सले भने मुद्दा प्रक्रिया अघि बढेपछि आफ्नो ऋण चुक्ता गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार यस प्रकरणमा पनि अघिल्लोमा जस्तै ताप्लेजुङ घर भई दमक–४ बस्ने सुवास दाहालको संलग्नता देखिएको प्रहरीले जनाएको छ । दुरुपयोग भएको २३ करोडभन्दा बढी कर्जामा नै उनी संलग्न भएको देखिएको डिएसपी गिरीले बताए । उनका अनुसार ऋण लिएर सुवासलाई दिइएको थियो । यद्यपि, त्यो पैसा कहाँ गयो भन्नेबारे प्रहरी पनि अनभिज्ञ रहेको उनले बताए । ‘यसअघिको प्रकरणमा पनि सुवास दाहालको नाम थियो । यसमा पनि उनी संलग्न देखिएका छन् । ऋण लिएर पैसा उनलाई दिएको अनुसन्धानका क्रममा खुलेको छ । तर, त्यो पैसा कहाँ गयो भन्ने पत्तो छैन,’ उनले भने, ‘सुवास अहिले पनि फरार छन् । खोजी कार्य भइरहेको छ ।’

सुझावित समाचार