पर्यटनमन्त्री किराँतीले तलबसहित दानपेटिकाको रकम विद्यालयलाई दिने

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक महिनाको आफ्नो तलबसहित दानपेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् । गत ३ माघमा पद बहालीका क्रममा माला र खादा लिएर नआउन उनले आफन्त तथा शुभेच्छुकलाई आग्रह गर्नुभएको थियो । किराँतीले माला र खादाको खर्च दानपेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने घोषणा गरेका थिए ।

दानपेटिका शुक्रबारदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले बिदाबाहेक सात दिनमा संकलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख चार सय ४४ रुपैयाँ शिक्षामा खर्चिने उल्लेख गरेका हुन् ।

‘आमजनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दानपेटिकामा रकम हाल्न भन्यौँ, संकलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ,’ पर्यटनमन्त्री किराँतीले भनेका छन् ।

पर्यटनमन्त्रीको सचिवालयका अनुसार संकलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने र त्यसका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।

सुझावित समाचार