कक्षा ८ मा पढ्ने २२ हजार विद्यार्थीमाथि भएको सरकारी अध्ययनको निष्कर्ष– ६८ प्रतिशत विद्यार्थीले न्यूनतमस्तरको क्षमता पनि देखाएनन्
- बागमती, गण्डकी र लुम्बिनीबाट मात्रै औसतभन्दा राम्रो नतिजा प्राप्त
- अभिभावकको पेसा–व्यवसायदेखि विद्यार्थीको उमेर र गतिविधिसम्मले सिकाइमा प्रभाव
विद्यालय तहका विद्यार्थीमा न्यूनतम सिकाइ उपलब्धि नै नाजुक देखिएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको ‘नेसनल एसेस्मेन्ट अफ स्टुडेन्ट एचिभमेन्ट’ (नासा) रिपोर्टअनुसार पछिल्ला वर्षमा विद्यार्थीको न्यूनतम सिकाइ झनै कमजोर भएको हो ।
सातै प्रदेशका सामुदायिक र निजी गरी नौ सय विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने झन्डै २२ हजार विद्यार्थीमाथि सन् २०२० मा केन्द्रले गरेको अध्ययनमा ३२.१ प्रतिशत विद्यार्थीले मात्रै न्यूनतम तहको क्षमता देखाएका छन् । केन्द्रले गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयमा उनीहरूको क्षमता परीक्षण गरिएको जनाएको छ । पछिल्लो रिपोर्ट त्यसअघि सन् २०१७ र २०१९ मा केन्द्रले गरेको अध्ययनको रिपोर्टभन्दा पनि नाजुक देखिएको छ ।
सिकाइ कमजोर देखिएको छ, अब कारण खोज्नुपर्छ : चन्द्रकान्त भुसाल प्रमुख, शैक्षिक गुणस्तर परीक्षण केन्द्र
गुणस्तर कमजोर हुनुमा धेरै तत्वले काम गर्छ । त्यसैले कारण पनि फरक–फरक देखिन्छन् । विद्यार्थीको पृष्ठभूमिदेखि विद्यालयका गतिविधिले गुणस्तरलाई फरक पारेको देखिन्छ । गुणस्तरलाई प्रभाव पर्ने एउटा तत्व सामाजिक–आर्थिक पक्ष हो । निजी र सामुदायिकको तुलना गर्दा निजीको राम्रो देखिन्छ भने कामै नगर्ने विद्यार्थीभन्दा केही समय काम गर्नेको उपलब्धि धेरै छ । अहिले अवस्था देखिएको छ, कारण खोज्नका लागि अर्को अनुसन्धान गर्नुपर्छ ।
सन् २०१७ मा नासाले न्यूनतम गुणस्तर परीक्षणको राष्ट्रिय औसत अंक ५०० तोकेकोमा सन् २०२० मा घटाएर ४८३ कायम गरेको थियो । तैपनि ६७.९ प्रतिशत विद्यार्थी उक्त अंक प्राप्त गर्न असफल भए । गणित र विज्ञानमा एकतिहाइ विद्यार्थीले मात्र राष्ट्रिय औसत सिकाइ उपलब्धि प्राप्त गरेका छन् भने नेपाली र अंग्रेजी विषयमा ५० प्रतिशतको हारहारीको औसत उपलब्धि रहेको पाइएको छ । गणित विषयमा ३२.१, विज्ञानमा ३७.७, नेपालीमा ५८.८ र अंग्रेजीमा ५१.५ प्रतिशत विद्यार्थीमा न्यूनतम क्षमता देखिएको छ । यसले शिक्षाको गुणस्तरमा प्रश्न जन्मिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)का अधिकृत श्यामप्रसाद आयार्चले बताए । गणितमा २१ हजार आठ सय १४, नेपालीमा २१ हजार पाँच सय ७८, विज्ञानमा २१ हजार एक सय ४६ र अंग्रेजीमा २१ हजार ६ सय ८३ विद्यार्थी अध्ययनमा सहभागी गराइएका थिए ।
बागमती, गण्डकी र लुम्बिनीबाट मात्रै औसतभन्दा राम्रो नतिजा प्राप्त
बागमती, गण्डकी र लुम्बिनीबाट मात्रै औसतभन्दा राम्रो नतिजा प्राप्त भएको छ । न्यूनतम गुणस्तर परीक्षणको राष्ट्रिय औसत अंक ४८३ तोकिएकोमा बागमतीका विद्यार्थीको उपलब्धि ५०९, गण्डकीको ४९७ र लुम्बिनीको ४८५ छ । यी प्रदेशमा चारै विषयमा औसतभन्दा बढी अंक छ । मधेस, कर्णाली र सुदूरपश्चिममा भने चारै विषयमा राष्ट्रिय औसतभन्दा कमजोर उपलब्धि पाइएको छ । प्रदेश १ मा कुनै विषयमा औसत उपलब्ध प्राप्त भए पनि कुनैमा कम छ ।
औसत अंक ४७० तोकिएको विज्ञान विषयमा बागमतीका विद्यार्थीले ४९२, गण्डकीले ४८५, लुम्बिनीले ४७५ र प्रदेश १ का विद्यार्थीले ४७२ पाएका छन् । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीको नतिजा औसतभन्दा कमजोर छ । नेपाली विषयमा गण्डकीले ५२१, बागमतीले ५११, प्रदेश १ ले ५०५ र लुम्बिनीले ४९८ अंक प्राप्त गरी औसतभन्दा माथि छन् । अंग्रेजी विषयको औसत अंक ५०० कायम गरिएकामा बागमतीका विद्यार्थीले ५२९, गण्डकी ५२२, प्रदेश १ विद्यार्थीले ५०१ र अंक प्राप्त गरेका छन् ।
अभिभावकको पेसादेखि विद्यार्थीको उमेर र गतिविधिसम्मले सिकाइमा प्रभाव
अध्ययनले छात्राको सिकाइ उपलब्धि कमजोर देखाएको छ । विद्यार्थीको उमेरले समेत सिकाइमा फरक पर्ने देखिएको छ । अध्ययनमा १२ देखि १६ वर्षसम्ममा विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये सबैभन्दा राम्रो उपलब्धि १३ वर्ष उमेरका विद्यार्थीमा देखिएको छ । १५ वर्षभन्दा माथिका विद्यार्थीको सिकाइ उपलब्धि कम छ ।
सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको उपलब्धिमा समेत ठूलो अन्तर देखिएको छ । सामुदायिक र निजी विद्यालयका विद्यार्थीबीच सिकाइ उपलब्धिमा ३७ अंकको फरक पाइएको प्रतिवेदनमा उल्लेख छ । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विज्ञान विषयमा ५०० अंक रहेकामा सामुदायिकका विद्यार्थीको अंक ४६३ मात्रै छ । सामुदायिक विद्यालयका विद्यार्थीको उपलब्धि राष्ट्रिय औसतभन्दा कमजोर रहेको रिपोर्ट छ ।
विद्यार्थीका अभिभावकको पेसादेखि शैक्षिक योग्यताले पनि विद्यार्थीको सिकाइमा प्रभाव पार्ने देखिएको छ । बाबुआमा निरक्षर भएका विद्यार्थीको भन्दा उच्च तहको शैक्षिक योग्यता भएकाहरूको सिकाइ उपलब्धि बढी छ । सरकारी जागिर, बिजनेस र घरव्यवहारमा संलग्न अभिभावकका छोराछोरीको अध्ययन राम्रो छ । त्यति मात्र होइन, पारिवारिक सदस्यअनुसार पनि नतिजामा असर देखिएको छ । घरमा चार वा पाँच सदस्य रहेको परिवारका विद्यार्थीको उपलब्धि सबैभन्दा राम्रो छ ।
विद्यार्थीको गृहकार्य र शिक्षकको प्रतिक्रियाले विद्यार्थीको सिकाइ बढ्ने देखिएको छ । गृहकार्य दिने र त्यसपछि शिक्षकबाट प्रतिक्रिया पाएका विद्यार्थीको उपलब्धि सबैभन्दा राम्रोसँग बढेको पाइएको हो । कहिल्यै गृहकार्य नपाउने र नगर्ने विद्यार्थी तथा निरन्तर गृहकार्यसहित प्रतिक्रिया पाउने विद्यार्थीको उपलब्धिमा १५ देखि ३४ अंकको फरक देखिएको छ ।
गुणस्तर कमजोर हुनुमा धेरै तत्वले काम गर्छ । त्यसैले कारण पनि फरक–फरक देखिन्छन् । विद्यार्थीको पृष्ठभूमिदेखि विद्यालयका गतिविधिले गुणस्तरलाई फरक पारेको देखिन्छ । गुणस्तरलाई प्रभाव पर्ने एउटा तत्व सामाजिक–आर्थिक पक्ष हो । निजी र सामुदायिकको तुलना गर्दा निजीको राम्रो देखिन्छ भने कामै नगर्ने विद्यार्थीभन्दा केही समय काम गर्नेको उपलब्धि धेरै छ । अहिले अवस्था देखिएको छ, कारण खोज्नका लागि अर्को अनुसन्धान गर्नुपर्छ ।